मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

नेपालभ्युज

मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

झापा। मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बू आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए ।

घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । सो विद्यालय दर्तासमेत नरहेको उनले बताए । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत् छन् ।

विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए ।

उक्त विद्यालय विसं २०७० मा मनोज गुरुङले स्थापना गर्नुभएको हो । उहाँ नै विद्यालयको सञ्चालक र प्रिन्सिपल हुुनुहुन्छ । विद्यलयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी र वडाध्यक्ष खनालले बीएन्डसी अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिनुभएको छ । बालक सेफ्टी ट्याङ्कीमा डुबेको भेटिएपछि विद्यालय बन्द गरिएको छ भने प्रहरीले विद्यालयको सुरक्षा गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved