सवारी लाइसेन्सको राजस्व भुक्तानी अब अनलाइनबाटै

नेपालभ्युज

सवारी लाइसेन्सको राजस्व भुक्तानी अब अनलाइनबाटै

पोखरा। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व भुक्तानी अब अनलाइनबाटै गर्न मिल्ने भएको छ ।

गण्डकी प्रदेशले पहिलोपटक परीक्षणका रूपमा यो सेवाको सुरुवात गरेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त अनलाइन सेवाको सुरुवात गरेका हुन् ।

उनले यातायात व्यवस्था कार्यालयमा ठूला लाइन र बिचौलियामुक्त गर्ने उद्देश्यले उक्त अनलाइन सेवा सुरु गरेको बताए । साविककै प्रणालीमा सुधार गरी यातायात व्यवस्था विभागले अनलाइनबाटै राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो ।

विभागका अनुसार लिखित र ट्रायल परीक्षामा पास भएकाले अनलाइनबाटै राजस्व तिर्न सक्नेछन् । यो प्रणाली पूर्णरूपमा लागू भएपछि कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता गेटवेमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

अहिले सवारी चालक अनुमति पत्रका लागि दैनिक ६ देखि ७ हजारले आवेदन दिने गरेका छन् । त्यसका लागि राजस्व बुझाउनदेखि स्वास्थ्य परीक्षण गर्नसम्म सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता छ ।

लाइन बस्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई घरमै सेवा उपलब्ध गराउनेगरी अनलाइन सेवा सुरु गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । ‘अहिले गण्डकी प्रदेशमा परीक्षणका रूपमा यो सेवा सुरु गरिएको हो,’ उनले भने, ‘यसलाई १५/२० दिन हेरिने छ, त्यसपछिको एक महिनाभित्र सबै यातायात व्यवस्था कार्यालयहरुबाट सेवा सुरु गरिने छ ।’

लिखित परीक्षा दिन, बायोमेट्रिक गर्न र ट्रायल दिन मात्रै यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित भए पुग्ने महानिर्देशक भट्टराईको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved