विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः प्रवन्ध निर्देशक घिसिङ

नेपालभ्युज

विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः प्रवन्ध निर्देशक घिसिङ

काठमाडौं । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् । आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन् ।

उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे । उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।

घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए । उनले गत वर्ष धेरै अपठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए ।

उनले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताए । प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए। उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी गरे ।

उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए। उनले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गरे । उनले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताए । उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए।

‘गत वर्षको भन्दा नेपाल विद्युत प्राधिकरण यो वर्ष राम्रो पोजिसनमा छौं । गत वर्ष प्राधिकरणलाई धेरै अफ्ठ्यारो थियो । बाहिरबाट धेरै विद्युत आयात गर्नसक्ने अवस्थामा थिएनौं । नेपालमा विद्युत उत्पादन पनि धेरै बढेको अवस्था थिएन’ उनले भने, ‘तर यो वर्ष विगत केही समय देखि उद्योगी व्यवसायीहरुले धेरै लोडसेडिङ भयो भन्ने गुनासो गरेका छन् । लोडिसेडिङ हुनुमा थोरै प्राविधिक विषयहरु रहेका छन् । पूर्वका उद्योगीहरुले ४ दिनदेखि गुनासो गर्नुभएको छ ।’

‘एक हप्तादेखि पूर्वमा प्राविधिक समस्या पनि थियो । रुपमणि सबस्टेशनको ब्रेकर पड्कको हुनाले ब्रेकर परिवर्तन गर्दा एउटा सर्किट बाइपास गर्नुपर्‍यो । त्यहाँ १३२ केभीको दुईवटा मात्रै ढल्केवरबाट पूर्व जाने ट्रान्समिसन लाईन छ । त्यसकारण दुई तिन दिन समस्या भएको हो। त्यो समस्या समाधान भएको छ’ उनले भने,  ‘बिहार र कटैयाँबाट एउटा सर्किटबाट समय–समयमा ब्रेकरमा समस्या हुँदा अभरलोड भएर तार चुडिँदा समस्या भएको हो । अहिले ब्रेकर मर्मत भएको छ । शनिवारदेखि सामान्य छ । विराटनगर औधोगिक करिडोर क्षेत्रमा सबै उद्योगीहरुले नर्मल रुपमा नै विद्युत पाइराख्नु भएको छ ।’

उनले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताए । उनले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताए । उनले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको बताए । उनले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए । उनले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गरे ।

प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताए । उनले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताए । उनले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताए । उनले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताए । उनले विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताए। उनले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताए । उनले सर्ट समयको लागि सुक्खाको कारण भएको समस्यालाई ठूलो समस्याका रुपमा लिन नहुने बताए ।

उनले उद्योगहरुले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताए । उनले उद्योगीहरुले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताए। उनले विद्युत माग अनुसार पाउनको लागि उद्योगहरुले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताए । जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved