गण्डकीमा मुख्यमन्त्री फेरिँदै ! कांग्रेस र माओवादी को पहिले ?

नेपालभ्युज

गण्डकीमा मुख्यमन्त्री फेरिँदै ! कांग्रेस र माओवादी को पहिले ?

काठमाडौं। संघीय सरकारमा गठबन्धन फेरिएसँगै अल्पमतमा परेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने देखिएको छ।

अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका छैनन्। उनले भोलि शनिवार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ। यही बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न लगाएका अधिकारीले विश्वासको मत पाउने सम्भावना भने कम छ।

केन्द्रमा एमाले–माओवादीबिच भएको सहमति अनुसार मुख्यमन्त्री भएका अधिकारी अहिले कांग्रेस–माओवादी सहितको गठबन्धनमा एमाले बाहिर पुगेपछि यथास्थितिमा मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा विश्वासको मत पाउने अवस्था न्यून छ। त्यसैले विश्वासको मत नपाएको अवस्थामा अधिकारीको सरकार स्वतः ढल्नेछ ।

अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

अधिकारी नेतृत्वको सरकार ढल्ने बित्तिकै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनेछ । त्यो भनेको प्रदेश सभाको सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने बाटो खुल्नेछ।

गडकी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुने देखिन्छ । गण्डकीको ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन्। बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ । एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित), राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) को पनि साथ हुने छ।

तर,गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो नेतृत्व गर्ने समझदारी भएको छ । यो अनुसार पहिला कांग्रेस वा माओवादी कसले नेतृत्व गर्ने ? भन्ने बहस छ।‘कांग्रेस र माओवादीबीच आलोपालो गर्ने सहमति छ तर कसले पहिला गर्ने भन्ने टुङ्गिएको छैन’ माओवादी केन्द्रका एक सांसद भन्छन्–‘पहिला वर्तमान सरकारको छिनोफानो होस् अनि कुरा गरौँला भन्ने छ।’

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले आफ्नो नेतृत्वमा गण्डकीको सरकार बन्नुपर्ने अडान राख्दै आएको बुझिएको छ। चुमान अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने तयारीमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved