राष्ट्रपति कार्यालयबाट संसद् सचिवालय पुग्नुपर्ने गाडी दमौली पुगेपछि…!

पूर्वसभामुखको हैसियतमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रयोग गर्दै आएको गाडी संसद् सचिवालयलाई ढिलोगरी फिर्ता  भएको छ । गाडी फिर्ता अगाडि धेरै अन्यौल र आश्चर्यसमेत जोडिएको छ ।

नेपालभ्युज

राष्ट्रपति कार्यालयबाट संसद् सचिवालय पुग्नुपर्ने गाडी दमौली पुगेपछि…!

काठमाडौं । पूर्वसभामुखको हैसियतमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रयोग गर्दै आएको गाडी संसद् सचिवालयलाई ढिलोगरी फिर्ता  भएको छ । गाडी फिर्ता अगाडि धेरै अन्यौल र आश्चर्यसमेत जोडिएको छ ।

गाडी राष्ट्रपति कार्यालयबाट फिर्ता पठाएको तर संसद् सचिवालयमा नपुगेको भन्दै  संसद् सचिवालयले गाडीका बारेमा अनविज्ञता प्रकट गरेपछि राष्ट्रपति कार्यालयले त्यसमा आपत्ति प्रकट गरेको थियो ।

२०५१ सालमा सभामुख भएका रामचन्द्र पौडेल २०७९ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । योबीचमा उनी पटक-पटक सांसद र मन्त्रीसमेत भइसकेका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गरेको रेकर्ड संसद् सचिवालयमा थिएन ।

उता राष्ट्रपति कार्यालयबाट गाडी फिर्ता लगिसकेको राष्ट्रपतिका प्रेस सहयोगी खिला कार्कीले दाबी गरिरहे । “संसद् सचिवालयले गाडी फिर्ता लगिसकेको छ,” उनले भने, ‘गाडी फिर्ता आएको छैन भन्ने संसद् सचिवालयको भनाइ हो भने त्यो झुठो हो ।’

संसद् सचिवालयले गाडी फिर्ता भएन भन्नु र राष्ट्रपति कार्यालयले फिर्ता भयो भन्नुको पछाडि कुनै कारण पक्कै छ भनेर हामीले खोजी गर्‍यौँ । साँझ ५ बजे गाडी संसद् सचिवालयमै भेटियो । त्यसका पछाडि कारण खोज्दै जाँदा थाहा भयो कि— गाडी राष्ट्रपति कार्यालयमा नभइ दमौलीमा रहेछ ! दमौली राष्ट्रपति रामचन्द्र पौडेलको गृहनगर हो ।

स्रोतकाअनुसार गाडी दमौलीमा रहेको कुरा राष्ट्रपति पौडेललाई समेत जानकारी थिएन । संसद् सचिवालयले गाडी फिर्ता नपाएको र राष्ट्रपति कार्यालयले गाडी फिर्ता पठाएको दुबै कुरा सत्य हो भने झुठ के होला ? भन्ने हाम्रो खोजीबाट थाहा भयो कि— गाडी राष्ट्रपति कार्यालयबाट दमौली पुर्‍याइएको र ल्याएर बुझाउन ढिला भएको देखियो ।

यसमा गाडी कुन प्रयोजनको लागि दमौली कसले लगेको थियो ? राष्ट्रपति शीतलनिवासमै रहेका बेला उक्त गाडी उनका नातेदार, पारिवारिक सदस्य वा पूर्वपार्टीका कार्यकर्ताको दमौली गयो ? भन्नेबारे जिज्ञासा राख्दा राष्ट्रपति कार्यालयले केही बताउन चाहेन ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधासम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको — “पदाधिकारीले यस दफाबमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।”

तर, व्यवहारिकरूपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद् सचिवालय स्रोतको भनाइ छ । तर, १५ दिन होइन पौडेल राष्ट्रपति निर्वाचित भएको एक महिना ४० दिन भइसकेको छ । स्रोतकाअनुसार राष्ट्रपति निर्वाचित भएलगत्तै पशुपति, गुह्येश्वरी र सुन्दरीजल पुग्दा उनले त्यही गाडीको प्रयोग गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved