चन्द्रप्रसाद ढकाल : सफल उद्यमीदेखि महासंघको अध्यक्षसम्म

नेपालभ्युज

चन्द्रप्रसाद ढकाल : सफल उद्यमीदेखि महासंघको अध्यक्षसम्म

काठमाडौं। चैत २८, २९ र ३० गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघले ५७औं वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभा सम्पन्न सँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष भएका छन् ।

महासंघको नव-निर्वाचित अध्यक्षको रूपमा ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी प्रवर्द्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् ।

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ । महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवर्द्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाइ सिधै फाइदा वा सेवा पुर्‍याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो, व्यावसायिक सम्भावनाको क्षेत्र ।

को हुन् ढकाल ?

चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रूपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् ।

त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आईएमई ग्रुपसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरू नेपालसहित विश्व बजारमा स्थापित छन् ।

ढकाल नेतृत्वको आईएमई ग्रुपले २० हजार जनाभन्दा बढी प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

ढकालको नेतृत्वमा आईएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्तर्गत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरू बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरूमा आईएमई ग्रुपको प्रमुख हिस्सेदारी छ ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकार सहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन् ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखौं श्रमिकहरू अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् ।

औपचारिक माध्यममार्फत ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रूपमा ढकाल, नेपाल सरकारले पटक-पटक ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान-सीआईपी’ बाट सम्मानित भएका छन् । यस्तै, रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आईएमई पुरस्कृत भएको छ ।

सेवा तथा उत्पादनमूलक उद्योगहरूमा थप लगानी प्रवर्द्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आईएमई ग्रूपका कम्पनीहरू पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् ।

यसरी आईएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक-सामाजिक रूपान्तरणमा समर्पित देखिन्छ ।

२०७२ को भूकम्प र कोभिड-१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्नसमेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् ।

कोभिड-१९ मा आईएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोगसमेत गरेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रूपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो ।

अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved