कवि वसन्त चौधरीको ‘आहाना’ कविता सङ्ग्रहको लोकार्पण

कवि वसन्तले आफ्नो नातिनी आहानासँग ११ वर्षको अवधिमा बुनेको मीठो सम्झनालाई मार्मिक शैलीमा ५६ कविताहरुमा रुपान्तरण गरेका छन्।नातिनी आहानासँग हाँस्दै खेल्दैँ गर्दा, कवि वसन्तले कति नातिनी सम्झेर त कति आफैँ नातिनी बनेर लेखे।

नेपालभ्युज

कवि वसन्त चौधरीको ‘आहाना’ कविता सङ्ग्रहको लोकार्पण

काठमाडौं। कवि वसन्त चौधरीको कविता सङ्ग्रह ‘आहाना’ लोकपर्ण भएको छ। प्रिमियर इन्टरनेसनल स्कुलमा आइतबार एक कार्यक्रमबीच बाल साहित्यिक कविता सङ्ग्रह ‘आहाना’ विमोचन गरिएको हो।

आइतबार नातिनी आहानाको जन्मदिनको उपलक्ष्यमा हजुरबुबा वसन्तले आफ्नो नातिनीसँगको माया झल्काउने कविता सङ्ग्रहको लोकर्पण गरे।

उपहारस्वरूप नातिनीलाई उनकै लागि लेखिएको ‘आहाना’ कविता सङग्रह कवि वसन्तले प्रदान गरे। नातिनी पढ्ने विद्यालयमै पुस्तकको लोकार्पण गर्दा आहाना पनि कार्यक्रमप्रति उत्साहित थिइन्।

 

भनिन्छ हजुरबुबा–आमा र नाति–नातिनीको सम्बन्ध मित्रताभन्दा पनि गाढा हुन्छ। आमाबुबाले छोरा छोरीलाई गर्ने मायाभन्दा बढी हजुरबुबा–आमाको स्नेह अझै प्रगाढ हुने गर्दछ। सोही मायाको फलस्वरूप जन्मिएको छ वसन्त चौधरीको पहिलो बाल कविता सङ्ग्रह ‘आहाना’।

कवि वसन्तले आफ्नो नातिनी आहानासँग ११ वर्षको अवधिमा बुनेको मीठो सम्झनालाई मार्मिक शैलीमा ५६ कविताहरूमा रूपान्तरण गरेका छन्। नातिनी आहानासँग हाँस्दै खेल्दै गर्दा, कवि वसन्तले कति नातिनी सम्झेर त कति आफैँ नातिनी बनेर लेखे।

प्रिमियर स्कुलका निर्देशक पवित्रा लिम्बूले कवि वसन्तको कृतिले नेपाली बाल साहित्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

निर्देशक लिम्बूले भनिन्, ‘विश्व साहित्यमा नेपाली साहित्यको सानो संसार, त्यसमा नेपाली बाल साहित्यको त अझ सानो संसार। पुस्तकालयमा नेपाली बाल साहित्यमा रचना उपलब्ध गराउने प्रयासमा कृतिको अभावलाई नजिकबाट देखेको छ। कवि वसन्त चौधरीको यो रचनाले बाल साहित्यमा भएको अभावलाई पूर्ति गर्नेमा विश्वास राखेको छु।’

आहाना कविता संग्रहले नेपाली बाल साहित्यमा एउटा कोशेढुङ्गा थपेको निर्देशक लिम्बूले बताइन्।

‘नातिनी आहाना हाँस्दै, खेल्दैँ, नाच्दैँ र रमाउँदै गर्दा कवि वसन्तले त्यसलाई कति नजिकबाट हेरेका छन् भन्ने तथ्य उनको कविताको मर्मले बताउँदछ। आहाना भाग्यमानी नातिनी हुन्। उनले पाएको उपहारले सबै नेपाली बालबालिकाको लागि नै वसन्त चौधरी हजुरबुबाको रूपमा स्थापित हुनेछन्। ’, लिम्बूले बताइन्।

यसलगतै स्कुलमा अध्ययनरत आहानाको सहपाठी विद्यार्थीहरूले कविता सङ्ग्रहका केही कविता पनि वाचन गरेर सुनाए।

कक्षा ५ मा अध्यन्रत जोया महर्जनले आहानाको स्कुल जाने समयप्रति समर्पित एक कविता वाचन गरिन्। सुहाना यादवले आहाना निदाउँदै गरेको सुन्दरताको वर्णन गर्ने एक कविता पढेर सुनाइन्। दृष्टि महर्जनले चाहनाको शीर्षकमा लेखिएको कविता वाचन गरिन्। इना महर्जनले हाम्रो देश नामक शीर्षकको कविता वाचन गरिन्।

र, अन्तिममा आहाना आफैँले हजुरबुबा वसन्तले उनी सुतिरहेको अवस्थामा देखेको सपना र सौन्दर्यलाई वर्णन गर्ने कविता वाचन गरिन्। आफ्नै लागि लेखिएको कविता वाचन गर्दै गर्दा हृदयभावले आहानाको भावना पनि केहि मधुर भएको सुन्न सकिन्थ्यो। आहानाले हजुरबुबालाई धन्यवाद दिँदै मञ्चबाट बिदा भइन्।

दर्शकको माझमा रहेर नातिनीको वाचन सुन्दै गरेका कवि वसन्तको अनुहारमा मिस्रित भावना देख्न सकिन्थ्यो। खुसी तथा भावुक मनले उनले आफ्नो नातिनीको वाचन सुनिरहेका थिए।

कवि वसन्तले आफ्नो नातिनीसँगको प्रेमलाई निकै मार्मिक शैलीमा कवितामा ढालेका छन्। कति कवितामा उनले नातिनी आहानासँगको मायालाई प्रस्तुत गरेका छन्। कतिमा आहानाको कञ्चन मनलाई प्राकृतिक सौन्दर्य झल्काउने हरियाली र तारासँग पनि जोडेका छन्।

आफ्नो नातिनीले जीवनको हरेक मोडमा ती कविताबाट प्रेरणा पाएर असल नागरिक बनून भन्ने पनि कवि वसन्तको अभिप्राय रहेको छ। यस्तै, उनले सुन्दर र एकताबद्ध नेपालको झल्को पनि आहाना कविता सङग्रहमार्फत आफ्नो नातिनीलाई देखाएका छन्।

अन्नतः कवि वसन्तले आफ्नो नातिनीलाई जन्मदिनको बधाईं दिँदै आफ्नो खुसी साटे। कवि वसन्तले भने, ‘ नातिनी आहाना जसलाई म नातिनी सरकार पनि भन्छु। उसलाई जन्मदिनको अवसरमा धेरै धेरै माया र आशीर्वाद दिन चाहन्छु । भविष्यमा आफ्नो आकाश छुने स्वरूप खडा गर्ने आशिष दिन चाहन्छु। माया नै मायाको पोकोस्वरूप आहाना कविता सङ्ग्रह उपहार दिन चाहन्छु।’

‘म निकै प्रफुलित छु। वसन्तको आगमन फेरि भएको महशुस भइरहेको छ।’, वसन्तले थपे,‘बाल साहित्यमा मेरो यो पहिलो प्रयास हो। विदेश र भारतमा बाल साहित्यको उचाईंले डाह लाग्थ्यो। हामी किन पछि परिरहेका छौँ? भन्ने प्रश्न महशुस गर्थे।’

नेपालमा बाल साहित्यको बजार निकै सानो भएको पनि वसन्तले स्वीकारे। तथापि, वसन्तले बाल साहित्यलाई व्यापारभन्दा पनि आन्दोलनको रूपमा लिन जोड दिए।

उनले भने, ‘कम शब्दमा रचनात्मक र कम शैलीमा अथाह ज्ञान प्रभाव गर्ने सक्ने क्षमता बाल साहित्यमा हुने गर्दछ। यदि, आहाना कविता सङ्ग्रहले पनि ज्ञानवर्दन प्रभाव पार्न सके आफ्नो केही योगदान भएको महशुस गर्नेछु।’

उनले आहाना कविता सङ्ग्रह आफ्नो नातिनीको प्रतिविम्ब भएको बताए। उनले पुस्तकलाई आशीर्वाद दिनु भनेको आहानालाई आशीर्वाद दिनुसरह भएको पनि बताए।

अन्त्यमा कवि वसन्तले भने आहाना शीर्षकमा नै लेखिएको को कविता पढेर बिदा भए। जसलाई आहानाले निकै ध्यानपूर्वक हर्ष र उल्लासका साथ सुनिरहेकी थिइन्।

कार्यक्रमको अन्त्यमा कवि वसन्तले लेखेको आहाना नामक गीत बज्दै गर्दा उनको नातिनीले केक पनि काटिन्। समग्र साथीभाइलाई आफ्नो किताबको एक अंक, ब्याग र चकलेट पनि उपहारस्वरूप प्रदान गरिन्।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो। कवि वसन्तले कार्यक्रम सञ्चालनमा सहयोग गरेको विद्यालयको लागि माया चिनोस्वरुप निर्देशक लिम्बूलाई सरस्वती माताको प्रतिमा प्रदान गरे।

भानु भट्टराईले आफूले बनाएको पेन्टिङ पनि कवि वसन्तलाई उपहारस्वरूप प्रदान गरे।

यसअघि, वसन्तले २० भन्दा बढी किताब प्रकाशित गरेका छन्। नेपाली भाषामा उनको १३ कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्। अन्य ८ भाषामा पनि उनको कविता सङ्ग्रह छन्।

उनले ३ हिन्दी कविता, २ निबन्ध सङ्ग्रह, २ ऋतु सङ्ग्रह र ९ गीति एल्बममा पनि योगदान पुर्‍याइसकेका छन्। ‘शान्ति लुकाऊँ कहाँ’ भन्ने गीतको रचनाका रूपमा पनि कवि वसन्त स्थापित छन्।

कार्यक्रमका केही झलकहरू

(तस्वीरः सुनील महर्जन)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved