सङ्कटमा सुदूरपश्चिम सरकार : मुख्यमन्त्री शाहले पाउलान् त विश्वासको मत ?

नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिने संकेत

नेपालभ्युज

सङ्कटमा सुदूरपश्चिम सरकार : मुख्यमन्त्री शाहले पाउलान् त विश्वासको मत ?

धनगढी। संसदीय दलको बैठकमा माओवादी भित्र अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा पहल गर्ने बताएपछि सुदूरपश्चिम सरकार सङ्कटमा परेको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई सहमतिविना समर्थन गर्न नसक्ने बताइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनुपर्ने कि राजीनामा दिनुपर्ने दुई विकल्प मुख्यमन्त्री कमलबहादुर शाहलाई आईपर्ने देखिएको छ । नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

आज बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

उनले पहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई मुख्यमन्त्री बनाउने वचन दिएका कारण त्यो पूरा हुनुपर्ने पहिलो सर्त भएको दाबी गरे । भट्टले आजको बैठकले बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखी पठाउने निर्णय गरेको र बाँकी केन्द्रबाट जे निर्णय आउँछ त्यहीअनुसार अगाडि बढ्न सकिने जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सोहीअनुसार भोलि विश्वासको मत लिँदै गरेका उनलाई कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ मत पाउने निश्चित छ । शाह सरकारलाई स्वतन्त्र जितेका डा तारा जोशीले पनि विश्वासको मत दिने जनाएका छन् ।

यता मुख्यमन्त्री कमल शाहले भन्ने विश्वासको मत पाउनेमा कुनै शंका नगर्ने आग्रह गरेका छन् । उनले भोलिसम्म माओवादी र नागरिक उन्मुक्ति दुवैको सहयोगमा आफूले विश्वासको मत पाउने दाबी गरेका छन् ।

तर, माओवादी र नागरिक उन्मुक्तिले भने अहिलेसम्म विश्वासको मत दिने निर्णय गरेका छैनन् । यहाँ माओवादी केन्द्रका सभामुखसहित ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved