प्रमोद खरेल-सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

मुद्दा समयमै नटुंगिँदा दुईबीच विवाद बढ्दै गएको छ। आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौच गरेको गायक प्रमोदको आरोप छ। सुवासको फेसबुक पोस्टको स्क्रिनसर्ट लिएर प्रमोद साइबर ब्युरो गए। त्यही उजुरीका कारण अहिले सुवास हिरासतमा छन्।

नेपालभ्युज

प्रमोद खरेल-सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा,
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ।’’

२०६६ सालमा सार्वजनिक सर्वाधिक चलेको गीत हो ‘म बिना कसै कसैलाई’। अहिलेका चल्तीका गायक प्रमोद खरेललाई चिनाउने गीत नै यही थियो। यद्यपि, त्यसअघि पनि प्रमोदले गीत नगाएका होइनन्।

झापाबाट काठमाडौं आएर संघर्षरत रहँदा धेरै गीत गाए पनि चर्चा पाउन सकेनन्। प्रसिद्ध विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीसँगको सहकार्यमा प्रमोदले गीत गाएका थिए।

प्रमोदले धौलागिरि क्यासेट सेन्टरमार्फत दुई गीत रेकर्ड गरिसकेका थिए। बाँकी गीतमा विन्ध्यवासिनी कम्पनीले लगानी गर्दै ‘प्रणय’ एल्बम निकालियो। गीतमा महेश खड्काले सङ्गीत गरेका थिए।

गीत सार्वजनिक भएलगतै सर्वाधिक हिट भयो। रातारात प्रमोद सुपर हिट भए। मेला महोत्सवमा गीत गाउन जान भ्याइनभ्याइ भयो। अरू एल्बममा गीत गाउनको लागि उनको माग खुबै बढ्यो। करिअरको सुरुआतमा धेरै संघर्ष गर्दा हात नपरेको सफलता गायक प्रमोदलाई एकै गीतले दियो। यो गीत गाइपछि प्रमोदले पछाडि फर्केर हेर्नुपरेन।

एउटा गीत चलेपछि मोडल, गायक–गायिकादेखि सो गीतसँग आबद्ध हरेक व्यक्ति व्यस्त हुने गर्छन्। सङ्गीतकार महेश खड्का भने आफैँमा चर्चित थिए। सङ्गीत उद्योगमा जोखिमपूर्ण रूपमा लगानी गर्दैआएको विन्दवासिनी म्युजिक कम्पनी पनि यो गीतले मालामाल भयो। त्यतिबेला युट्युबको चलन चलिसकेको थिएन।

मोबाइलमा फोन गर्दा बज्ने सीआरबिटी र पीआरबीटीबाट लाखौं आम्दानी भयो। त्यसको ४ वर्षपछि विन्ध्यवासिनी म्युजिक प्रालिले युट्युबमा राखेको सो गीतको भिडिओलाई अहिलेसम्म साढे ४२ लाख बढी पटक हेरिएको छ।

चर्चामाको शिखरमा पुगेको यही गीतले १३ वर्षपछि लगानीकर्ता स्वयंलाई प्रहरी हिरासतमा पुर्‍याएको छ। विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी थाइल्यान्डबाट फर्कनेबित्तिकै विमानस्थलमै प्रहरीको फन्दामा परे।

अहिले उनी हिरासतमा छन्। उनी प्रहरीको फन्दामा पर्नुको कारण हो : यही गीतका गायक प्रमोद खरेलले दिएको मानहानिविरुद्ध उजुरी। आफूविरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै साइबर ब्युरो गुहार्न पुगेका थिए प्रमोद खरेल।

प्रमोद र सुवासबीच विवाद यो पहिलोपटक भएको भने होइन। २ वर्षअघि पनि खरेल र रेग्मीबिच गीतको प्रतिलिपि अधिकारको विषयमा विवाद भएको थियो।

२०७७ पुसमा प्रमोदकै उजुरीमा रेग्मीकी श्रीमती लीना शर्मा रेग्मी प्रहरी हिरासतमा पुगिन्। लिना विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत भएकाले कपिराइट मुद्दामा उनी पक्राउ परेकी थिइन्। मुद्दा अदालतमा पुगेपछि लीला २ लाख ७५ हजार धरौटीमा छुटेकी थिइन्।

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

के हो विवाद ?

सुवास र प्रमोदबीचको प्रतिलिपि अधिकारका विषयमा पटक–पटक विवाद हुँदै आएको छ। उजुरी हुँदै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा मिलापत्र हुँदै आएको छ।

गायक प्रमोदले २०६६ चैत २७ देखि ‘प्रणय’ एल्बमको व्यापार तथा बजार प्रवर्द्धनको जिम्मा विन्ध्यवासिनी म्युजिकलाई दिएको बताएका छन्। सो म्युजिकसँगको सम्झौता पाँच वर्षको रहेको र २०७२ चैत २७ मा सकिएको प्रमोदको दाबी छ।

तर, सम्झौता अहिलेसम्म पुन: नवीकरण नगरी विन्ध्यवासिनीले व्यापार गरिरहेको, तर हिसाब भने नदेखाएको प्रमोदको दाबी छ। ‘प्रणय’ एल्बमको निर्माता आफू र गीतको सर्वाधिकार आफूसँग रहेको प्रमोदको जिकिर छ। आफूले एल्बम फिर्ता माग्दा सुवास रेग्मी सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली गर्न उत्रिएको प्रमोदको आरोप छ।

उता रेग्मीले भने आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति विभिन्न महोत्सवमा गएर गीत गाएको आरोप लगाउँदै आएका छन्। सुवास रेग्मीले यही आरोपसहित १ करोड रुपैयाँ क्षतिपूर्तिसहित कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए।

त्यसपछि खरेलले पनि प्रतिलिपि अधिकार हनन् भएको भन्दै प्रहरीमा समेत गए। प्रमोद खरेलले ५७ जना सङ्गीतकर्मीहरूको हस्ताक्षर जुटाएर प्रहरीसहित विभिन्न अड्डामा गएका थिए। सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ।

मुद्दा सामयमै नटुंगिँदा दुईबीच विवाद बढ्दै गएको छ। विचाराधीन मुद्दामा सुवास रेग्मी चुप नबसेको र आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौच गरेको गायक प्रमोदको आरोप छ।

सुवास रेग्मीले भने प्रमोदले गीतकार तथा संगीतकारको पारिश्रमिक बुझेर स्रष्टालाई नदिएको आरोप लगाएका छन्। आफूले प्रमोदलाई सबै स्रष्टाको पारिश्रमिक दिए पनि उनी आफैँले लिएको दाबी गरेका छन्।

तर, अहिले स्रष्टाहरूले पारिश्रमिक नपाएको गुनासो गरेको रेग्मीले बताउँदै आएका छन्। पाँच वर्षसम्म आर्थिक अधिकार तीन भागमा बाँडिने गरी सहमति भएको रेग्मीले बताउँदै आएका छन्।

धनकुटा महोत्सवको घटनापछिको त्यो स्ट्याटस

१३ माघमा प्रमोद खरेल धनकुटा महोत्सव गएका थिए। ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भए। घाइतेको धनकुटा अस्पताल र धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइयो।

सो घटनालाई लक्षित गर्दै सुवासले प्रमोदको नाम नलिई सामाजिक सञ्जालमा लेखे ‘‘धनकुटामा एउटा बौलाहा कुकुर भुक्दै थियो। १२–१५ जना मान्छे घाइते भएछन्। घरको स्वास्नी बिर्सेर मोडलमा रमाउने काइते चै घाइते भएनछ। बुढो बाऊलाई तारेखमा राखेर आफ्नो अबोध त्यो सन्तानको रोग देखाउँदै, इमोसनल चन्दा सहयोग उठाउँदै बाँचेको त्यो भतुवालाई थु थु गरौँ।’’

साथै, सुवासले धरानको कन्सर्टमा घाइते भएकालाई उपचार गरिदिनेसमेत अभिव्यक्ति दिए।

सो अभिव्यक्तिबाट आफ्नो अपमान भएको महशुस गरेका प्रमोद प्रहरी गुहार्न गए। उनी सुवासको फेसबुक पोस्टको स्क्रिनसर्ट लिएर साइबर ब्युरो गए। त्यही उजुरीका कारण अहिले सुवास हिरासतमा छन्। प्रहरीले अनुसन्धान गर्न भन्दै अदालतबाट पाँच दिनको म्याद पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved