बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, विहान साढे ११ देखि १ साढे १ र राति साढे ८ देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए ।

नेपालभ्युज

बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
फाइल तस्वीर।

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, विहान साढे ११ देखि १ साढे १ र राति साढे ८ देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए ।

एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हँुदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उनले बताए ।

निर्माण व्यवसायीले बेनी–जोमसोम कोरला सडक आयोजनामार्फत प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मङ्गलादेवी–सुवास जेभीसँग रु १२ करोड २५ लाख ९४ हजार चार सय ३६ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ ।

दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक विसं २०५३ मा मार्ग खुलेको थियो ।

यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो । चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् ।

यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved