प्रदेश १ : मन्त्रिमण्डल गठन हुँदै, माओवादी केन्द्र सहभागी हुँदैन ?

प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

नेपालभ्युज

प्रदेश १ : मन्त्रिमण्डल गठन हुँदै, माओवादी केन्द्र सहभागी हुँदैन ?

विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । नेकपा (एमाले) प्रदेश नं. १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीकाअनुसार मुख्यमन्त्री कार्कीले सोमबार (आज) दिउँसो २ बजे शपथग्रहण गर्दैछन् ।

शपथ ग्रहणसँगै उनले सानो आकारको मन्त्रिमण्डलसमेत गठन गर्दैछन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट २ र सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) बाट १/१ जना गरी ६ सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको छ ।

एमालेबाट बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बोलाई मन्त्री बनाउने बताइएको छ । मेन्याङ्बो पूर्वसंघीय सांसद हुन् । उनले संसदीय दलको नेतामा आकांक्षा व्यक्त गरेका थिए । तर, उनलाई मन्त्री बनाउने आश्वासन दिइएपछि पछि हटेका थिए भने राजभण्डारी यसअघि निर्वाचित प्रदेश संसद्‌मा प्रमुख सचेतक थिए । उनले पुन: सोलुखुम्बु प्रदेश सभा २ बाटै जित निकालेका हुन् ।

राप्रपाबाट भने संसदीय दलका नेता भक्ति सिटौला नै मन्त्री बन्ने सम्भावना छ । यस्तो जसपाबाट एक्ली सांसद निर्मला लिम्बू नै मन्त्री बन्ने बताइएको छ ।

यता सत्ता साझेदार दल माओवादी केन्द्र भने अनिर्णित छ । प्रदेश सभामा १३ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्वमा पालो खोजेको छ । तर, आइतबार साँझ बसेको शीर्ष नेतृत्वहरूको बैठकले प्रदेश नं. १ को नेतृत्व पाँचै वर्ष एमालेलाई दिने भनेपछि माओवादी केन्द्र संसदीय दल, प्रदेश १ ले असहमति जनाएको छ ।

आज बिहानमात्रै संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारको नेतृत्वमा पालो पाइएमात्रै सरकारमा सहभागी हुने बताएका थिए । यसपछि माओवादी केन्द्र अनिर्णित भएको हो । तपाईंहरू सरकारमा जानुहुन्छ ? भन्ने नेपालभ्यूजको जिज्ञासामा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ले भने, ‘नजान पनि सक्छौँ ।’

आफूहरूको संसदीय दलको बैठक चलिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘कसलाई पठाउने भन्नेबारे टुङ्ग्याएका छैनौँ । आज नपठाउन पनि सक्छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved