पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, पाँच दशकको सपना यसरी भयो साकार

विमानस्थल सञ्चालन भएकै दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भए पनि अनुमति प्रक्रिया पूरा नहुँदा आइतबार आन्तरिक उडानबाट विमानस्थल उद्घाटन हुन लागेको हो ।

नेपालभ्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, पाँच दशकको सपना यसरी भयो साकार

पोखरा। देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो ।

सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दैछन ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीलगायतको बृहत् सहभागितामा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।

गौतमले भने, “सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसँग सम्बन्धित सङ्घ संस्थासम्बद्धको सहभागिता रहनेछ ।” आइतबार बिहान विमानस्थलमा अवतरण हुने पहिलो जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने उनले बताए ।

विमानस्थल सञ्चालन भएकै दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भए पनि अनुमति प्रक्रिया पूरा नहुँदा आइतबार आन्तरिक उडानबाट विमानस्थल उद्घाटन हुन लागेको हो ।

विमानस्थल उद्घाटनसँगै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । विमानस्थल उद्घाटनसँगै आइतबारदेखि सबै आन्तरिक उडान यही विमानस्थलबाट हुनेछन् ।

चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माणकार्य सुरु भएको थियो ।

पुरानो विमानस्थल सञ्चालनमै रहने

आइतबारदेखि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि २०१४ सालदेखि सञ्चालनमा रहेको पुरानो विमानस्थलसमेत सञ्चालनमै रहनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको उडान अवतरणमात्रै हुनेछ । जोमसोम र मनाङको हुम्दे उडान तथा अल्ट्रालाइट र हेलिकोप्टरको उडान भने पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हाल सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग छोटो रहेकाले स्टल रुटका जहाज पुरानो विमानस्थल र ट्रंक रुटका जहाज नयाँ विमानस्थलबाट सञ्चालन हुनेछन् ।

नयाँ विमानस्थलबाट काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, जनकपुरलगायतका सहरी गन्तव्यमा उडान हुने उनले बताए । नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थल हाललाई दिउँसोमात्रै सञ्चालनमा रहनेछ ।

यसअघि नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमास्थललाई विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने, पाइलट ट्रेनिङ सेन्टर बनाउने, उड्डयन प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने, साहसिक खेलकुदका लागि प्रयोग गर्नेबारे छलफल भए पनि हाललाई हवाई सेवामै पुरानो विमास्थल सञ्चालनमा रहने भएको हो ।

हालको तयारीअनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्स, बुद्ध एयर र यती एयरलाइन्सले उडान गर्नेछन् भने तारा र समिट एयरलाई पुरानै विमानस्थलबाट उडान गराउने प्राधिकरणको तयारी छ ।

प्राधिकरण स्रोतका अनुसार पुरानो विमानस्थलको वैकल्पिक प्रयोजनका लागि चालू आर्थिक वर्षको बजेटमै व्यवस्था गरेर कर्मचारी आवास गृह बनाउनेसमेत तयारी छ । बहुवर्षीय आयोजनाअन्तर्गत पुरानो विमानस्थल क्षेत्रमा आवास गृह बनाउन प्राधिकरणले तीन करोड रुपियाँ बजेट छुट्याएको थियो ।

त्यस्तै बहुद्देश्यीय व्यापारिक भवन बनाएर व्यावसायिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी पनि प्राधिकरणको तयारी रहेको छ ।

कुल एक हजार १५६ रोपनी क्षेत्रफलमा फैलिरहेको पुरानो विमानस्थलमा एक हजार १४७ मिटर लामो र ४० मिटर चौडाइको धावनमार्ग छ । मौसम खराब भएको समयमा बिहान उडान प्रभावित हुँदै आएको यो विमानस्थलमा बेलुका तीन बजेपछि समेत उडान–अवतरण हुन मुस्किल पर्छ ।

पुरानो विमानस्थलमा दृश्यमा आधारित उडान नियम (भीएफआर) प्रविधिमा आधारित भएरमात्र उडान हुने भएकाले झरी पर्दा, तुवाँलो लाग्दा यहाँको उडान प्रभावित हुँदै आएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved