विवेकशील साझाको समीक्षा बैठक बन्दिपुरमा

नेपालभ्युज

विवेकशील साझाको समीक्षा बैठक बन्दिपुरमा

काठमाडौं।  पुस १५ र १६ गते तनहुँको बन्दिपुरमा विवेकशील साझाको समीक्षा बैठक हुने भएको छ। प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरु सम्मिलित समीक्षा बैठकमा बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा हुने बताइएको छ ।

 बैठकमा निर्वाचन परिणाम, वैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुविकरण सम्ममा खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

‘अगुवा साथीहरुसँग निर्ममताका साथ खुला छलफलको फोरमका रुपमा समीक्षा बैठकलाई डिजाईन गरिएको छ, सबै कोणबाट आफ्ना सुझाव, अनुभव र आगामी बाटोबारे अगुवा साथीहरुले बहस गर्नु हुन्छ,’  प्रवक्ता परियारले थपे ‘संघीय समितिले आफ्ना कुरा लाद्ने छैन अगुवाका सुझाव, सल्लाह र रचनात्मक आलोचना लिपीबद्ध गरिनेछ।’

वैकल्पिक राजनीतिक केन्द्रको रूपमा स्थापित विवेकशील साझा पार्टी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेशसँगै केही समय शिथिल बनेको थियो। पार्टीलाई नै राप्रपामा मिसाउने मिश्रको कदम असफल बनाई पार्टी बचाएसँगै नयाँ शिराबाट अघि बढ्ने सोच स्वरुप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

चुनावको मुखैमा राप्रपा समाहितको विवाद चर्किएसँगै चुनावमा होमिएको विवेकशील साझा पार्टीको लगानीको मत नयाँ उदाएको रास्वपामा रुपान्तरण भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्दै आएका छन् ।

‘मत क्रान्ति भएकै हो, परम्परागत दलहरुलाई मतदाताले चाबुक हानेकै हो मत बदल्न विवेकशील साझा पार्टीको निरन्तर खबरदारीलाई अवमूल्यन गर्न हुँदैन, पार्टीको आन्तरिक विवाद, सैद्धान्तिक विमति र राप्रपाकरणका कारण यस्तो अवस्था आएक‍ो हो त्यसलाई चिर्न नयाँ नेतृत्व तयार छ,’ बास्कोटाले भनिन्।

समीक्षा वैठकको तयारी पूरा भएको केन्द्रीय सदस्य सुरज प्रधानले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved