नवजात शिशुलाई यसरी सिकाउनुहोस् खेलकुद

नेपालभ्युज

नवजात शिशुलाई यसरी सिकाउनुहोस् खेलकुद

एजेन्सी । खेलकुदले शारीरिक मात्र होइन मानिसक स्वास्थ्य पनि राम्रो बनाउँछ । शिशुहरूको सुरुआती विकासमा त झनै खेलकुद जरुरी छ । आज हामी शिशुहरूलाई खेलाउने तरिकाबारे कुरा गर्नेछौं ।

तपाईंले सोचिरहनुभएको छ होला, दुनियाँमा भर्खरै आएको बच्चा जो बोल्न सक्दैन, हिँडडुल गर्न सक्दैन उसले खेलकुद कसरी गर्छ ? जसरी बच्चाको सबै जिम्मेवारी आमाबाबालाई हुन्छ त्यसरी नै बच्चाको खेलकुदको जिम्मेवारी पनि आमाबाबालाई नै हुन्छ ।

शिशुको विकासको लागि प्ले टाइम हरेक रूपबाट फाइदाजनक छ । खेलकै माध्यमबाट उनीहरूले हातखुट्टालाई यताउता चलाउन सिक्छन् र आमाबाबा तथा आफन्तसँग कुरा गर्न पनि त्यसरी नै सिक्छन् ।

हेरौं नवजात शिशुलाई खेल्न सिकाउने केही तरिकाहरू

शिशुका हरेक क्रियाकलापको जवाफ दिनुहोस्

आफ्ना बच्चाप्रति धेरैभन्दा धेरै ध्यान दिनुहोस् र उनीहरूले निकाल्ने कुनै पनि प्रकारको आवाजको जवाफ दिनुहोस् ।

आफ्नो बच्चाले निकाल्ने जस्तै आवाज तपाईंले पनि निकालेर उनीहरूलाई कुरा गर्न मद्दत गर्न सक्नुहुन्छ । यसरी तपाईंले आफ्नो बच्चा र आफूबीचको सम्बन्ध निर्माण गर्नसक्नुहुन्छ ।

बच्चालाई चारैतिर रंगीन खेलौना देखाउनुहोस्

आफ्नो बच्चाको ध्यान आकर्षित गर्न उनीहरूको चारैतिर रंगीन तथा संगीतयुक्त खेलौनाहरू राख्नुहोस् । बच्चाले त्यस्ता खेलौना हेरेर भुल्नेछन् साथै उनीहरूलाई ती खेलाउने रहर पनि जाग्नेछ ।

बच्चा ठूला हुँदै गएपछि यस्ता खेलौनाहरूबाट केही न केही नयाँ चिज गर्ने कोशिस गर्नेछन् । जसले बच्चालाई बाठो बनाउनुका साथै चलायमान पनि बनाइराख्छ ।

खेलौना उठाउने प्रयास र खेलौनासम्म पुग्ने उनीहरूको इच्छाले उनीहरूलाई चाँडै घस्रिन तथा हिँड्न मद्दत गर्छ ।

आवाज आउने चीजहरू आसपास राख्नुहोस्

बच्चाहरूको ध्यान आकर्षित गर्न छन्छन् बज्ने खेलौना तथा त्यस्ता वस्तुहरू नजिक राख्नुहोस् । जसले गर्दा बच्चा भुल्छन् र तपाईंलाई आफ्नो अन्य काम गर्न मौका पनि मिल्छ ।

उनीहरूमा आफैँ खेल्ने र आत्मनिर्भर हुने खालको भावना विकास हुन्छ । यसो गर्दा उनीहरूले विभिन्न खाले आवाजहरूबाट परिचित हुन्छन् र कतै होहल्ला भिडभाडमा जाँदा पनि आत्तिने गर्दैनन् ।

यस्ता चिजहरूले बच्चाहरूको दिमाग शिशु अवस्थाबाटै तेज हुँदै जान्छ ।

आफ्नो बच्चालाई मनोरञ्जन गर्नुहोस्

बच्चालाई भुलाउन आफूले नाच्ने गाउने गर्नुहोस् । आफ्ना हातले ताली बजाउने तथा उनीहरूसँग इशारामा कुरा गर्ने गर्नुहोस् । सुस्त-सुस्त उनीहरूले यसको जवाफ दिन थाल्छन् ।

यस्ता क्रियाकलापहरू गर्नाले तपाई र तपाईंको बच्चाबीच माया र स्नेह बढ्छ । त्यस्तै, घरमा अन्य सदस्यहरू तथा आफन्तलाई पनि त्यसरी नै कुरा गर्न लगाउँदा सबैसँग बच्चा घुलमिल हुन थाल्छन् ।

बच्चालाई दिनमा दुईपटक मसाज गर्नुहोस्

नवजात शिशुले आफ्नो शरीरका अंगहरू राम्रोसँग चलाउन सक्दैनन् । जसले गर्दा सुतिरहेको अवस्थामा उनीहरूको शरीर स्थिर भएको हुन्छ । जसले तपाईंले मसाज गरेर चलायमान बनाउन सक्नुहुन्छ ।

यसरी तेलले मसाज गर्दा उनीहरूको शरीरिक विकासमा मद्दत पुग्नुका साथै मांसपेशीहरू बलियो बन्दै जान्छ । जसले गर्दा बच्चाहरू गहिरो निद्रा सुत्ने गर्छन् । यसरी बच्चाको दिमागी तथा शारीरिक विकासमा मद्दत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved