चिसो बढेपछि पर्साको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्दै

नेपालभ्युज

चिसो बढेपछि पर्साको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्दै
फाइल तस्विर

काठमाडौं । विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।

चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यायो पार्ने प्रयासमा लागेको देखिन्छन् ।

बिहानको समयमा लाग्ने हुस्सुका कारण बाटो देख्नसमेत समस्या भएपछि यातायातका साधान सञ्चालनमा कठिनाइ हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा निरजकुमार सिंहले जानकारी दिए । उनले सामान्य अवस्थामा ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सय ६० जनाभन्दा बढी चिसोबाट प्रभावित बिरामी आउने गरेकोे बताए।

अस्पताल आउनेमा सबैभन्दा बढी रुघाखोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका बिरामी बढी आउने गरेको डा सिंहले जानकारी दिए । बढ्दो चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरको चौकचौराहालगायतका सार्वजनिक स्थानमा आगोको प्रबन्ध गर्न दाउरा र कम्बल वितरण गर्ने निर्णय गरेको उपप्रमुख इतियाज आलमले जानकारी दिए । उनले आजै महानगरपालिकाको कार्यालयमा सम्बन्धित सबै पक्षका अधिकारीहरूलाई बोलाई नगरका चौकचौराहामा आगोको व्यवस्था गर्न आवश्यक दाउरा र आवश्यकताका आधारमा कम्बल वितरण गर्ने निर्णय गरिएको बताए ।

बढ्दो चिसोबाट जोगिन विना काम घरबाहिर नहिँड्न र हिँड्नैपर्ने भए न्यानो लुगा लगाई मात्र हिँड्न चिकित्सकले सुझाव दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved