काठमाडौं। नेपालको राजनीतिमा मूलतः ५ वटा वैचारिक धार देखिन्छन् । ती हुन्– एक, उदार लोकतान्त्रिक, दुई, साम्यवादी, तीन, सम्बर्द्धनवादी, चार– मधेशकेन्द्रित क्षेत्रीय दल र पाँच– उत्तरआधुनिक युगका नयाँ लोकतन्त्रवादी ।
यी वैचारिक धारलाई छुटट्याउन पनि उत्तिकै सजिलो छ । उदार लोकतान्त्रिक धारमा एक मात्र बलियो दल छ– नेपाली कांग्रेस । यसले आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भन्ने गर्दछ । तर, व्यवहारतः संसदीय लोकतन्त्र, खुल्ला बजार अर्थतन्त्र, नवउदारवादी आर्थिक नीति र नागरिक राष्ट्रवाद यसका प्रष्ट वैचारिक आधारशीला, राजनीतिक व्यवहार र मूर्त एजेन्डा हुन् । नेपाली कांग्रेस (बीपी ) पनि यही धारको दल हो ।
साम्यवादी धारमा दर्जनौं वाम घटक छन् । ती मध्ये एमाले र माओवादी केन्द्र ठूला घटक हुन् । त्यसवाहेक नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा, नेकपा (मार्क्सवादी), जनसमाजवादी, नेकपा (समाजवादी ), नेकपा ( माओवादी समाजवादी ) नेकपा (परिवर्तन) गरी एक दर्जन दल यो समूहमा छन् ।
सर्वहारा राज्य स्थापना गर्ने उद्देश्यले यी समूह स्थापित भएका हुन् । यी मध्ये ५ वटाले अहिलेसम्म चुनावी नतिजा निकालेका छन–एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेमकिपा र राष्ट्रिय जनमोर्चा ।
सम्बर्द्धनवादी धारको भने राप्रपा हो । यसले मूलतः राजतन्त्रको पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दछ। यसको अर्को हाँगो कमल थापा नेतृत्वको राप्रपा नेपाल हो । यसका अध्यक्ष आफैँ एमालेको सूर्य चिन्हबाट प्रतिस्पर्धी बनेको कारण पार्टीको भिन्नै पहिचान कायम छैन । समानुपातिकमा यो दलले अहिलेसम्म १० हजार मत मात्रै कटाएको छ ।
मधेसकेन्द्रित दलको वैचारिक आधार भने संघवाद, समावेशिता, आरक्षण, सामाजिक न्याय, मधेसको समानुपातिक सहभागिता र प्रतिनिधित्व हो । यस चुनावमा यो धारबाट जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, बहुजन एकता पार्टी, बहुजन शक्ति पार्टी, तमलोपा तथा थरुहट, निषाद दलित, जनजाति पार्टी १० पार्टी सामेल थिए । तीमध्ये जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तिले अहिलेसम्म चुनावी परिणाम निकालेका छन् ।
पाँचौं– धारमा भने अघिल्लो चुनावमा विवेकशील साझा र नयाँ शक्ति पार्टी थिए तर यसपटक हाम्रो नेपाली पार्टी ‘लौरो अभियान’ र राष्ट्रिय स्वतन्त्र पार्टी आए । लौरो अभियानले प्रतिनिधिसभातर्फ परिणाम हात पार्न नसके पनि बाग्मती प्रदेश सभामा १ सिट जितेको छ ।
यी पाँच धारलाई गत चुनावसँग तुलना गर्दा कांग्रेस, कम्युनिस्ट र मधेस केन्द्रित दलको जनमत खुम्चिएको देखिन्छ भने राजावादी र नयाँ दलको स्पेस विस्तारित भएको छ ।
नेपाली कांग्रेसले गत चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको थियो । यसपटक ५५ भन्दा बढी जित्ने देखिन्छ । प्रत्यक्षतर्फ यो दोब्बरभन्दा बढी हो । तर, अर्को तर्फबाट हेर्दा कांग्रेसको जनमत भने संकुचन भएको छ । गत चुनावमा कांग्रेसले समानुपातिक तर्फ ३२.७८ प्रतिशत मत प्राप्त गरी ४० सिट हासिल गरेको थियो ।
यसपटक अहिलेसम्म कांग्रेसले २६ प्रतिशत हाराहारीमा मात्रै समानुपातिक भोट पाइरहेको छ । अर्थात् गठबन्धनको सहारामा प्रत्यक्ष तर्फका सिटमा बढोत्तरी गरे पनि लोकप्रिय मत भने ६ प्रतिशतले संकुचित भएको छ ।
२०७४ को आम निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । यसपटक झण्डै आधामा झरेको छ । अहिलेसम्मको समानुपातिक मत गणनामा एमाले पहिलो स्थानमा भए पनि लोकप्रिय मत संकुचन भएको छ । गत चुनावमा एमालेले समानुपातिक तर्फ ३३.२५ प्रतिशत मत र ४१ सिट हासिल गरेको थियो ।
एमाले मात्रै हैन, साम्यवादी धारको अर्को ठूलो दल माओवादी केन्द्र पनि यसपटक संकुचन भएको छ । गत चुनावमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्र यसपटक १७ सिटमा खुम्चिएको छ । यो गत चुनावको भन्दा झन्डै आधा कम हो । समानुपातिकतर्फ पनि माओवादी केन्द्रको भोट २ प्रतिशतले घटेको देखिन्छ । गत चुनावमा यो पार्टीले १३.६६ प्रतिशत मत प्राप्त गरेको थियो भने यसपटक करिब ११ प्रतिशत मत मात्रै प्राप्त गरिरहेको छ ।
साम्यवादी धारमा एमालेबाट फुटेर थपिएको नयाँ दल एकिकृत समाजवादीले प्रत्यक्षतर्फ गठबन्धनको साहारामा १० सिटमा जित हासिल गरे पनि समानुपातिकतर्फ भने करिब साढे २ प्रतिशत मत प्राप्त गरिरहेको छ । यसले ३ प्रतिशतको थ्रेसहोल्ड भेट्ने वा नभेट्ने अझै अनिश्चित छ । नेमकिपा र राष्ट्रिय जनमोर्चा लगायतका अन्य कम्युनिस्ट घटकले थ्रेसहोल्ड भेट्ने सम्भावना देखिन्न । प्रत्यक्षतर्फ नेमकिपा र जनमोर्चा गत चुनावमा जस्तै १-१ सिट मै सीमित भएका छन् ।
एकीकृत समाजवादीले ‘मेकअप’ गरेको भोटको प्रभाव हटाउँदा पनि समग्रमा साम्यवादी दलको मत ५ प्रतिशतले संकुचन हुने सम्भावना छ ।
रुढीवादी धारको राप्रपाले भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेखनीय प्रगति गरेको छ । राप्रपाले गत चुनावमा प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको थियो भने यसपटक ७ सिटमा विजय हासिल गरेको छ। गत चुनावमा यो धारका थापा, राणा र लोहनी गरी ३ समूहले भाग लिएका थिए ।
यी ३ वटै दलले प्राप्त गरेको मत जोड्दा मुस्किलले ३ प्रतिशत हुन्थ्यो । भिन्नाभिन्नै लडेकाले यिनले थ्रेसहोल्ड भेटेका थिएनन् । यसपटक राप्रपा मतगणना चलिरहँदा थ्रेसहोल्डभन्दा माथि गइसकेको छ। उसले करिब ६ प्रतिशत हाराहारीमा समानुपातिक मत पाउने देखिएको छ ।
चौथो धार मधेसकेन्द्रित दलमा गत चुनावमा २ दल राजपा र संघीय समाजवादी फोरमले परिणाम निकालेका थिए । प्रत्यक्ष तर्फमा क्रमशः ११ र १० गरी २१ सिट हासिल गरेका थिए । यसपटक यी दुई दलका उत्तराधिकारी दल जसपा र लोसपा जम्मा ११ सिटमा सीमित हुने देखिन्छ । नागरिक उन्मुक्तिले प्राप्त गरेको ४ र जनमतको १ सिटलाई समेत यसै प्याकेजमा राख्दा पनि जम्मा १६ मात्रै हुन्छ जो गत चुनावको भन्दा ५ कम हो ।
समानुपातिकतर्फ गत चुनावमा राजपा र फोरमको कुल मत ९ लाख भन्दा बढी र करिब ९ प्रतिशत नै थियो । क्रमशः ४.९५ र ४.९३ प्रतिशत मत प्राप्त गरी दुवै दलले थ्रेसहोल्ड काटेका थिए । समानुपातिक तर्फ यी दलले १२ सिट हासिल गरेका थिए ।
यसपटक जसपा करिब ३ प्रतिशतको हाराहारीमा छ भने लोसपाले थ्रेसहोल्ड हाट्ने सम्भावना कमजोर हुँदै गएको छ । नागरिक उन्मुक्ति र जनमत पार्टीले लोसपाको भन्दा बढी मत प्राप्त गरिरहेका छन । तर, यी दलले थ्रेसहोल्ड काट्न पनि गाह्रो देखिन्छ ।
मधेस केन्द्रित र संघवादी दलले प्राप्त गरेको सबै मतलाई एकै ठाउँमा जोड्ने हो भने यो धार जमनतमा अझै धेरै कमजोर भइसकेको भने छैन । गत चुनावमा नयाँ धारका दुई विवेकशील साझा र नयाँ शक्तिले ल्याएको समानुपतिक भोटलाई एकै ठाउँ जोड्दा करिब ३ प्रतिशत हुन्थ्यो ।
तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै करिब ११ प्रतिशत मत प्राप्त गरिरहेको छ। लौरो अभियानले भने थ्रेसहोल्ड काट्ने सम्भावना देखिएको छैन । तर, करिब ५० हजार भोट पाइरहेको छ । यसलाई समेत एक ठाउँमा राख्दा माओवादी केन्द्रसँग करिब बराबरी हुन्छ ।
प्रत्यक्षतर्फ गत चुनावमा नयाँ शक्तिको १ सिट थियो । विवेकशील साझाले प्रत्यक्षतर्फ जित्न सकेको थिएन। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा विजय हासिल गरिसकेको छ । समग्रमा कांग्रेस, कम्युनिस्ट र मधेस केन्द्रित दलको जनमत खुम्चिएको देखिन्छ भने राजावादी र नयाँ पार्टीको जनमत बढेको छ ।
Facebook Comment
Comment