नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको समानान्तर गतिविधि बढ्दै गएपछि आन्तरिक शक्ति संरचना र सम्भावित भावी समीकरणको विश्लेषण सुरु भएको छ । २०५४ सालको छैटौँ महाधिवेशनयता करिब ३० वर्षदेखि ओली–भण्डारी एउटै गुटमा मात्र होइन, एकर्काका दृढ सहयोगी थिए । दुवै राज्यका उच्च पदमा पुगे । ओली ४ पटक प्रधानमन्त्री भए भने, भण्डारी २ पटक राष्ट्रपति भइन् ।
भण्डारीको विरासतले ओलीलाई पार्टी सत्ता कब्जा गर्न निक्कै ठूलो मद्दत गरेको थियो भने, ओलीकै प्रस्ताव, अडान र लबिङको कारण भण्डारी दुईपटक राष्ट्रपति हुन सम्भव भयो । तर, यी दुई नेताबीच अब विभाजनको मोड आएको छ । ओलीमाथि दुई ठूला नैतिक दबाब र पाबन्दी छन् । बुढ्यौलीतिर पुगेको र दुई कार्यकाल पूरा गरेको । एमालेले ७० बर्से उमेर हद हटाए पनि ‘दुई कार्यकाल अध्यक्ष’ को प्रावधान विधानमा छँदै छ ।
त्यसो त भण्डारी पनि संवैधानिक राष्ट्रपति दलीय राजनीतिमा फर्किएको नैतिक आरोप खेपिरहेकी छन् । तर, भण्डारीको पार्टी अध्यक्ष हुने र ओलीको अध्यक्षमा तेहरिने चाहनाबीच अहिलेसम्म कुनै मिलनबिन्दु देखिएको छैन । कि त दुईमध्ये एक कसैले आफ्नो इरादा परिवर्तन गर्नुपर्नेछ ।
अन्यथा लामो समयदेखि एउटै गुटमा रहेर दुवै नेतालाई साथ दिइरहेका अन्य नेता–कार्यकर्ताले भने दुईमध्ये कुनै एकलाई रोज्नुपर्नेछ । त्यसमध्ये पनि उच्च पदस्थ पदाधिकारी कता लाग्ने छन् भन्ने कुराले धेरै ठूलो अर्थ राख्दछ । हारजितलाई नै प्रभावित गर्न सक्दछ ।
एमालेमा अहिले १९ सदस्सीय उच्च पदस्थ नेतृत्व छ । केपी शर्मा ओली अध्यक्ष, ईश्वर पोख्रेल वरिष्ठ उपाध्यक्ष र शङ्कर पोखरेल महासचिव छन् ।
६ जना उपाध्यक्ष छन्– युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गुरु बराल ।
३ उपमहासचिव छन्– प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ ।
७ सचिव छन्– रघुवीर महासेठ, गोकर्ण विष्ट, लेखराज भट्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल ।
यीमध्ये आगामी महाधिवेशनमा को कता लाग्लान् ? को-को ओलीकै खेमामा रहलान् र क-कसले ओलीलाई छोडेर विद्या भण्डारीलाई साथ देलान् ? के ओलीका अहिलेसम्मका निकटस्थ सहयोगी भनिएकाहरू अगामी एघारौँ महाधिवेशनमा पनि ओलीसँगै रहलान् कि साथ छोडेर भण्डारीतिर लाग्लान् ?
खेमा परिवर्तनको प्रवृत्ति
एमालेको इतिहास नै त्यस्तै छ– निकटस्थ सहयोगीहरूले साथ छोडेपछि पार्टीमा नेतृत्व परिवर्तन र नयाँ नेताको उदय हुने गरेको छ ।
२०३१ सालमा ‘कम्युनिस्ट कोअर्डिनेसन केन्द्र’ बन्दा झापा विद्रोहको लहर थियो । झापाली नेताका रूपमा सीपी मैनालीले व्यापक लोकप्रियता र स्वीकार्यता पाएका थिए । २०३५ सालमा भूमिगत रूपमा नेकपा (माले) गठन हुँदा जजसले मैनालीलाई साथ दिए, तिनै सहयोगी टाढिएपछि २०३९ सालमा झलनाथ खनालको उदय भयो । मैनालीको साटो खनाल मालेको महासचिव बने ।
माधव नेपाल, मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम, प्रदीप नेपाल, मुकुन्द न्यौपाने आदिले सीपी मैनालीलाई नेता बनाएका थिए । पछि मैनालीलाई छोडेर झलनाथ खनाललाई साथ दिने पनि यिनै भए । २०४२ पछि यिनै सहयोगी खनालसँग असन्तुष्ट हुन थाले र नयाँ नेताको खोजी हुन थाल्यो ।
खनालको साटो मदन भण्डारीलाई अघि सारियो । माधवकुमार नेपाल, जीवराज आश्रित, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोख्रेल, अशोक राई आदि मदन भण्डारीका मुख्य सहयोगी बने । २०४५ सालमा सिराहाको सर्रे अब्बासमा भएको चौथो महाधिवेशनले खनाललाई प्रतिस्थापित गर्दै मदन भण्डारीलाई महासचिव बनायो ।
यतिन्जेलसम्म केपी शर्मा ओलीको भूमिका आन्तरिक पार्टी जीवनमा खासै महत्त्वपूर्ण थिएन । उनी लामो जेल जीवनपछि भर्खरै छुटेको हुँदा उच्च पार्टी नेतृत्वका लागि भर्खरै लाइन लाग्दै थिए ।
यो प्रचलन सँगसँगै एमालेमा अर्को समानान्तर संस्कृति पनि छ । मूल पदबाट हटाइएको पूर्व नेताले कि पार्टी छोड्छ, कि पार्टी फोड्छ कि सदाबहार गुनासो र गनगन गर्छ वा नयाँ नेतृत्वलाई भित्रभित्रै असहयोग गर्दछ ।
महासचिवबाट हटाइएका सीपी मैनाली बाँकी जीवनभरि पार्टीसँग कहिल्यै सन्तुष्ट हुन सकेनन् । उनले झलनाथ खनाल र मदन भण्डारीलाई कहिल्यै साथ, सहयोग गरेनन् । अहिले उनी एउटा भिन्नै सानो समूह बनाएर बसेका छन् ।
ठीक त्यसै गरी झलनाथ खनालले पनि मदन भण्डारीलाई खुलेर सहयोग गरेनन् । उनले बरु ‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने सिद्धान्तलाई लागू गर्दै २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीविरुद्ध मोर्चा कस्न सीपी मैनालीलाई साथ दिए । र, भण्डारीले प्रतिपादन गरेको भनिएको ‘जनताको बहुदलीय जनवाद’ लाई ‘दक्ष प्रजापतिको टाउको’ भने ।
२०५० साल जेठ३ गते जब विवादास्पद् दासढुँगा जिप दुर्घटनामा मदन भण्डारीको निधन भयो, भण्डारीको गुट सर्लक्कै माधव नेपालतिर सर्यो । भण्डारीको निधनले मैनाली र खनाललाई नेतृत्वमा पुनर्स्थापित हुने अवसर दिएन ।
नेपालको नेतृत्व करिब १५ वर्ष एकछत्र रह्यो । तर, उनले बारम्बार आन्तरिक चुनौतीको सामना भने गर्नुपर्यो । २०५४ को छैटौँ महाधिवेशनमा वामदेव गौतम–सीपी मैनालीले भिन्नै गुट बनाएर बलियो चुनौती मात्र दिएनन्, पार्टी नै विभाजित गरिदिए । २०५४ सालको माले–एमाले विभाजन पार्टी इतिहासको सबैभन्दा ठूलो विभाजन थियो । ठीक त्यही बेला केपी ओली–विद्या भण्डारी गुटको जग बस्न थालेको थियो । माधव नेपाल गुटभित्रबाट यी नेता समानान्तर हुर्किएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–४ दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिए । केपी ओली, विद्या भण्डारी र प्रदीप नेपाललाई छोडेर माधव नेपालको गुट सर्लक्कै झलनाथ खनालतिर सर्यो । २०६५ को आठौँ महाधिवेशनमा झलनाथ खनालले अध्यक्षमा जिते ।
२०७० नवौँ महाधिवेशनमा केपी ओलीको जित त्यतिखेर मात्र सम्भव भयो जब वामदेव गौतम, ईश्वर पोख्रेल र भित्रभित्रै झलनाथ खनालले समेत केपी ओलीलाई सहयोग गरे । भनिन्छ–‘ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रलोभनमा फकाएपछि अन्तिम बेलामा सहयोग लिएका थिए। अन्यथा ओलीको उदय नै नहुन सक्दथ्यो।’ तर, ओलीले खनाललाई राष्ट्रपति भने बनाएनन् । त्यसपछिका दिनमा खनाल ओलीसँग सधैँ असन्तुष्ट रहे ।
माधव नेपाल र झलनाथ खनालको ओलीसँगको असन्तुष्टि खासमा पार्टी नेतृत्व परिवर्तनपछिको मैनालीको असन्तुष्टिजस्तै थियो । ओलीले गरेका दुईपटकका असंवैधानिक प्रतिनिधिसभा विघटनले त्यसलाई विभाजनको अवसर थियो । अन्ततः त्यो असन्तुष्टि सीपी मैनालीकै जस्तो फुटसम्म पुग्यो ।
अब ककसले छोड्न सक्दछन् ओलीको साथ ?
आठौँ र नवौँ महाधिवेशन यताको गुटबन्दी र आन्तरिक समीकरण अगामी एघारौँ महाधिवेशनमा अन्त्य हुने सम्भावना प्रबल भएको छ । करिब ३ दशक एउटै गुटमा मिलेर बसेका र एकर्काका बलियो सहयोगी भएका ओली–भण्डारी अब दुई गुट हुँदै छन् । यसको सरल अर्थ हो कि अहिलेसम्म ओलीलाई साथ दिँदै आएका नेता, कार्यकर्ताले अब ओली र विद्या भण्डारीमध्ये कुनै एकलाई छान्नुपर्ने बेला आएको छ ।
विद्याको जित त्यतिखेर मात्र सम्भव हुने छ, जब महाधिवेशन छेकसम्म अहिलेका ओली निकटस्थहरूको एउटा ठूलो समूह विद्यातिर लग्नेछ । यीमध्ये केहीले यस्तो संकेत दिइसकेका छन् ।
एमालेको उच्च नेतृत्वमध्ये शङ्कर पोखरेल, गुरु बराल, विष्णु रिमाल र प्रदीप ज्ञवाली अहिलेसम्म ओलीकै पक्षमा खुलेको देखिन्छ । अरू भने बिस्तारै टाढिन थालेका छन् । ओलीको ‘म झोले हो’ अभियानलाई पदाधिकारीभित्रकै धेरैले साथ दिएनन् ।
यीमध्ये पनि पोखरेल र बरालले अन्तिम बेलामा ओली छोडेर भण्डारीलाई साथ दिने सम्भावना इन्कार गर्न सकिँदैन । यी दुवै मदन भण्डारीले ‘ग्रुम’ गरेका नेता हुन । बराल मदन भण्डारीले विराटनगर आधारित भएर पार्टी काम गर्दा उनका निकट सहयोगी थिए । पोखरेललाई मदन भण्डारीले भारतबाट बोलाएर देशभित्र अखिलको नेता बनाएका थिए । कुनै न कुनै रूपमा विद्या भण्डारीप्रति यिनको सहानुभूति रहन्छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओली खेमामा हुर्किएका नेता होइनन् । उनी लामो समय माधव नेपालनिकट रहे । आठौँ महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव जितेका थिए । उनी नवौँ महाधिवेशनदेखि मात्र ओली गुटमा लागेका हुन् ।
१९ पदाधिकारीमध्ये ३ पूर्वमाओवादी छन् । रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी । रायमाझी निलम्बित र नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा भएको हुँदा उनको प्रभाव सीमित हुनेछ । रामबहादुर थापा ‘बादल’ एमालेमा कार्यकर्ता आधार नभएका नेता मानिन्छन् । उसको समर्थन–आधार माओवादीकै विभिन्न खेमामा फर्किसकेको हुँदा उनी जता लागे पनि खासै फरक पर्ने छैन ।
तर, सुदूरपश्चिम प्रदेशमा ठीकै जनाधार भएका भट्ट कता लाग्लान् भन्ने कुराले गुटबन्दीमा अर्थ राख्दछ । भट्ट ओली र भण्डारीमध्ये कता लाग्लान् वा एमालेभित्रको शक्ति समीकरणमा असान्दर्भिक भएर माओवादीमै फर्केलान्, कसैले अनुमान गर्न सकेको छैन ।
१० बुँदे समूहका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट यसै पनि ओलीसँग सन्तुष्ट छैनन् । यिनले पार्टी विभाजनको बेला माधवकुमार नेपाललाई छोडेर ओलीलाई साथ दिएका थिए । ओलीको दुई कार्यकाल अध्यक्ष पूरा भएको र विद्या भण्डारी बाहेक ओलीसँग साहसिक प्रतिस्पर्धा गर्ने सम्भावनाको अर्को व्यक्तित्व नभएको हुँदा यिनले भण्डारीलाई साथ दिने सम्भावना प्रबल हुन्छ ।
यही समूहका योगेश भट्टराई ओलीप्रति अलिक बढी नै भक्ति देखाइरहेका छन् । तर, यो कृत्रिम हुन सक्दछ । भट्टराईको ट्र्याक रेकर्ड हेर्दा उनी गुट परिवर्तनका लागि माहिर मानिन्छन् । उनी मदन भण्डारी र माधव नेपाल गुटबाट वामदेव–सीपी गुटमा उछिट्टिएका थिए । २०५६ पछि माधव नेपाल गुटमा लागे । झलनाथको उदयपछि खनाललाई नै साथ दिए ।
नेकपा ( नेकपा) विभाजनको समयमा भट्टराई माधव–प्रचण्डतिर लागे । तर, लगत्तै ओली गुटमा फर्किए । भट्टराई त्यतैतिर लाग्न सक्दछन्, जता पल्लाभरि हुन सक्ने सम्भावना रहन्छ । वामदेव–सीपी गुटमा लाग्दा अवसर नपाएको हुँदा बाँकी जीवन बहुमत गुटलाई साथ दिने उनले सिद्धान्त नै बनाएका छन् ।
रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्माकुमारी अर्यालले क्रमशः मधेसी, दलित र महिलाका क्षेत्रको नेतृत्व गर्दछन् । यी ३ जना कै आआफ्नो ठाउँमा उल्लेखनीय भूमिका रहन्छ । यीमध्ये पनि रघुवीर महासेठ कता लाग्छन् भन्ने कुराले ठूलो अर्थ राख्दछ । किनकि उनले पार्टीभित्र मधेशका कार्यकर्ताको ठूलो पङ्क्तिलाई आफूतिर आकर्षित गर्न सक्दछन् ।
बाँकी रहे– विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ । यी दुवै अहिले ओली सरकारको मन्त्री छन् । तसर्थ तत्काल यी खुल्न सक्ने छैनन् ।
तर, भण्डारीनिटक स्रोतका अनुसार यी दुवै नेता महाधिवेशन छेक पुगेर भण्डारीतिर लाग्ने सम्भावना छ । किनकि दुवै ओलीको कार्यशैलीसँग भित्रभित्रै असन्तुष्ट छन् । ओलीको नेतृत्वकालममा पार्टी अनावश्यक धेरै विवादमा फसेको, जनमत गुमाएको र कमजोर भएको यिनको बुझाइ छ ।
बदलिँदो आन्तरिक शक्ति समीकरणलाई हेर्दा आगामी एघारौँ महाधिवेशनसम्म ओलीले भण्डारीसँग नयाँ सम्झौता गर्ने सम्भावना पनि छ । त्यो भनेको दुई कार्यकाल अध्यक्षको वैधानिक प्रावधानलाई पालना गर्दै अगामी अध्यक्षका रूपमा भण्डारीलाई सहयोग गर्नु र राष्ट्रपति हुँदै राजनीति जीवनबाट क्रमशः निवृत्त हुनु हो ।
भण्डारीले जितेमा नयाँ अध्यक्षसँग असन्तुष्ट हुने वा पार्टी विभाजन गर्ने आधार भने ओलीका लागि कमजोर भइसकेका हुनेछन् । सीपी मैनाली, माधव नेपाल वा झलनाथ खनालको नियतिभन्दा राष्ट्रपति हुनु ओलीका लागि सहज बर्गिहमनको बाटो हो ।
भण्डारीनिकट स्रोत भन्छ, ‘ओलीले यस्तो प्रस्ताव गरेका भण्डारीले सहजै स्वीकार गर्ने छिन् । दुई नेताबीच महाधिवेशनको हलसम्म पुग्दा सम्झौता हुन सक्ने सम्भावना अन्त्य भएको छैन ।’
Facebook Comment
Comment