काठमाडौंमा घण्टी बज्दा एमालेलाई ठूलो धक्का

२०७४ मा ६ सिट जितेको एमाले १ सिटमा खुम्चियो

नेपालभ्युज

काठमाडौंमा घण्टी बज्दा एमालेलाई ठूलो धक्का

काठमाडौं। प्रतिनिधि सभामा सबैभन्दा बढी १० वटा सिट रहेको काठमाडौंमा नेकपा एमाले एक सिटमा खुम्चिएको छ।

काठमाडौंको सबै क्षेत्रको मतगणना लगभग सकिँदा पाँच सीट जितेर नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। चार सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो बनेको छ।

घण्टीको उदयले सबैभन्दा ठूलो धक्का नेकपा एमालेले व्यहोरेको छ। २०७४ सालको निर्वाचनमा काठमाडौंका १० मध्ये ६ सिटमा जितेको एमाले यस पटक एक सीटमा खुम्चिएको छ।

काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठबाहेक एमालेका अरू सबै उम्मेदवार पराजित भएका छन्। कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्र केसी विजयी भएका छन्। गठबन्धनबाट ६ सिटमा उम्मेदवारी दिएको कांग्रेसले काठमाडौंमा एक क्षेत्र गुमाएको छ। क्षेत्र नं ६ भीमसेनदास प्रधान पराजित भएका छन्।

काठमाडौं १ बाहेक सबै क्षेत्रमा कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवारको मुख्य प्रतिस्पर्धी एमाले बनेको छ। गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार भने प्रतिस्पर्धामै आउन सकेनन्।

त्यस्तै पहिलो पटक चुनावी मैदानमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ५ मध्ये ४ सीट जितेर सानदार सुरुवात गरेको छ। काठमाडौं २ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले जित निकाल्दा ती सबै क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले बन्यो।

यस्तै काठमाडाैं ६ मा शिशिर खनाल जित नजिक पुगेका छन्। केही मत गन्न बाँकी भएपनि प्रतिस्पर्धी भन्दा धेरै अगाडि रहेकाले खनालकाे जित निश्चित छ।

काठमाडौंमा समानुपातिकमा पनि स्वतन्त्र पार्टीको मत अगाडि रहेको बुझिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved