कैलाली-५ मा घरदैलो अन्तिम चरणमा : आफ्नो जित निश्चित भएको उम्मेदवारको दाबी

नेपालभ्युज

कैलाली-५ मा घरदैलो अन्तिम चरणमा : आफ्नो जित निश्चित भएको उम्मेदवारको दाबी

धनगढी। चुनाव आउन चार दिन बाँकी रहँदा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलोको अन्तिम चरणमा छन् । मतदातालाई रिझाउने घर–घर पुगेर आफ्नो एजेण्डा सुनाउँदै मत माग्ने कार्यलाई दल र उम्मेदवारले व्यापक पारेका छन् । मङ्सिर १ गते राति १२ बजेपछि प्रचार–प्रसार गर्न पाउँदैनन् ।

समय घर्किंदै जाँदा गाउँका हरेक घरमा गएर जनतालाई एजेन्डा बुझाउँदै भोट मागिरहेको नेकपा (माओवादी केन्द्र) का नेता तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘क’ का उम्मेदवार रमेश सिंह धामीले वाम लोकतान्त्रिक गठबन्धनले सविधानको रक्षा र विकाससहितको एजेन्डामा जनता सहमत भएको बताए । धामीले चुनाव प्रचार प्रसारको अन्तिम समयमा पुग्दासम्म गठबन्धनकै पक्षमा माहोल देखिएको बताएका हुन् । धामीले विगतका प्रतिनिधिबाट जनता आजित भएका कारण पनि अहिले जनता पुरानाको विकल्प खोजिरहेको बताए ।

जनताले चाहेको अधिकारनै पाएका छैनन् उनले भने “पाएका अधिकारसमेत खोसिने काम भएको छ, झन् चुनावमा गरेका वाचामध्ये आधा पनि काम नभएपछि उहाँहरू निकै आक्रोशित हुनुहुन्छ, उहाँहरू हामीप्रति सकारात्मक हुनुहुन्छ हामी गठबन्धनका सबै उमेदवारलाई यस पटक जनताले विजयी गराउने माहोल देखिएको छ ।”

गठबन्धनका सबै उम्मेदवारको जित निश्चित : प्रकाश देउवा

नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले गठबन्धनका सबै उम्मेदवारको जित निश्चित रहेको बताएका छन् । देउवाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न आग्रह गरे । २०७४ को निर्वाचनमा भएका गल्तीहरूलाई सुधार गरेर संघ र प्रदेश सबैतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह गरेका छन् ।

अहिले सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा अझ बढी चुनावी रौनक बढेको देखिन्छ । ग्रामीण मतदाता फकाउनका लागि नेताहरूको ध्यान गाउँतिर केन्द्रित भएको छ । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा अझ बढी चुनावी माहोल तातेको स्थानीयले बताएका छन् । ग्रामीण क्षेत्रमा घरदैलो गर्नेमात्रै हैन, उम्मेदवारले विभिन्न सांस्कृतिक कार्यक्रममा पनि उपस्थिति जनाएर भोट मागिरहेका छन् ।

विदेशीको चक्रव्यूहबाट देश जोगाउन एमालेलाई मत : राना 

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री नारदमुनि रानाले विदेशीको चक्रव्यूहबाट देश जोगाउन एमालेलाई मत दिनुपर्ने दाबी गरेका छन् । अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका रानाले विदेशीको इसारामा देश चलिरहेका कारण एमाले रोज्नुको विकल्प नरहेको बताए ।

गठबन्धनका नेताले भारतको निर्देशनमा नेपाली नागरिकता विदेशीलाई बेच्न खोजेको रानाले आरोप लगाए ।

अब पनि गठबन्धनकै सरकार बन्ने  र धमाधम विदेशीले नागरिकता पाउने उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved