कर्णाली : मुख्यमन्त्रीको दाबीसहित प्रतिनिधिसभाबाट प्रदेशसभामा झरेका यी उम्मेदवार

प्रतिनिधिसभा सदस्य भइसकेका बम, रावत र लामासँगै सधैं जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचन लड्ने राजीवविक्रम शाह पनि यसपटक मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा उठेका छन् ।

नेपालभ्युज

कर्णाली : मुख्यमन्त्रीको दाबीसहित प्रतिनिधिसभाबाट प्रदेशसभामा झरेका यी उम्मेदवार

सुर्खेत। २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका कर्णालीका तीन जना नेता मुख्यमन्त्री बन्ने आशासहित अहिले प्रदेशसभा झरेका छन् । प्रतिनिधिसभाका सदस्य भइसकेका मुगुका गोपालबहादुर बम, कालिकोटका दुर्गाबहादुर रावत र हुम्लाका छक्कबहादुर लामा मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभा उम्मेदवार बनेका हुन् ।

यसअघि महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही पनि कर्णालीको मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशसभामा उठेका थिए । उनीहरु दुवै मुख्यमन्त्री पनि बन्न सफल भए । प्रतिनिधिसभा सदस्य भइसकेका बम, रावत र लामासँगै सधैं जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचन लड्ने राजीवविक्रम शाह पनि यसपटक मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा उठेका छन् ।

एकीकृत समाजवादीका गोपाल बम (मुगु)

प्रतिनिधिसभाका निवर्तमान सांसद बम सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार हुन् । एकीकृत समाजवादीका नेता बमले मुगु ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् । यदि चुनावी परिणामले एकीकृत समाजवादी बलियो दल बन्यो र कर्णाली प्रदेश सरकार उसको भागमा पर्‍यो भने बम नै मुख्यमन्त्री बन्न सक्नेछन् ।

बमसँग प्रतिस्पर्धा गर्न एमालेले जितबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । बमलाई कांग्रेस र माओवादी केन्द्रको साथ रहेकाले चुनाव जित्न भने खासै कठिन छैन । तर प्रदेशमा एकीकृत समाजवादीले कति सिट जित्छ र भविष्यमा सरकारको नेतृत्व पाउँछ कि पाउँदैन भन्ने अझै स्पष्ट छैन ।

माओवादी केन्द्रका दुर्गाबहादुर रावत (कालिकोट)

कालीकोटका निवर्तमान सांसद दुर्गाबहादुर रावत अहिले मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा उठेका छन् । उनले कालिकोटको ‘क’ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका छन् । रावतको एमालेका कुर्मराज शाहीसँग प्रतिस्पर्धा हुँदैछ ।  विगतमा कर्णाली प्रदेशसभा सदस्य रहेका शाहीले फ्लोरक्रस गरेर महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा जोगाएका थिए ।

एमालेबाट एकीकृत समाजवादीमा गएका शाही टिकट नपाउने भएपछि पुनः एमालेमै फर्किए । अहिले उनी प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनको जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका रावत माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।‘संघीय सांसद भएकोले स्वाभाविक रूपमा म प्रदेशको मुख्यमन्त्रीको दाबेदार हो ।’ रावतले भने, ‘तर, अन्तिम निर्णय पार्टीले गर्ने भएकाले त्यो स्वीकार गर्छु ।’

अब कर्णालीमा माओवादीको हैसियत कस्को हुन्छ ? र कसको सरकार बन्छ भन्ने चुनावी परिणामले नै बताउने छ ।

एमालेका छक्कबहादुर लामा (हुम्ला)

स्वतन्त्रबाट उम्मेदवारी दिएर २०७४ सालको निर्वाचनमा हुम्लाबाट प्रतिनिधिसभा सांसदमा विजयी भएका माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य छक्कबहादुर लामा अहिले एमालेमा छन् । उनी मुख्यमन्त्री बन्ने दाबीसहित एमालेमा प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका हुन् ।

हुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारी दिएका लामाले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार मुख्यमन्त्री जीवनबहादुर शाहीसँग प्रतिस्पर्धा गर्दै छन् । हुम्लामा चुनाव प्रचार–प्रसारमा रहेका लामाले भावी मुख्यमन्त्री आफू नै भएको भनेर मत मागिरहेका छन् । ‘म विगतमा दुईपटक संघीय सांसद भएको मान्छे । अहिले म प्रदेशसभाको निर्वाचनमा झरेको छु ।’ एउटा चुनावी सभामा भने, ‘म मुख्यमन्त्रीको प्रमुख दाबेदार भएर नै प्रदेशमा झरेको हुँ ।’

लामाले मुख्यमन्त्रीको दाबी गरे पनि प्रदेशमा एमालेको सरकार बन्न भने सहज छैन ।

कांग्रेसका राजीवविक्रम शाह (जाजरकोट)

जाजरकोटबाट २०७० साल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका राजीवविक्रम शाह पनि मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा झरेका छन् । उनले जाजरकोट (ख)  बाट उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट अहिलेका मुख्यमन्त्री जीवनबहादुर शाही पनि मुख्यमन्त्रीका दाबेदार हुन् । यदि प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए यि दुईबीच आन्तरिक प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved