चुनावको विरोधमा ‘विप्लव’ नेतृत्वको पार्टीद्वारा मकवानपुरमा भित्तेलेखन

नेपालभ्युज

चुनावको विरोधमा ‘विप्लव’ नेतृत्वको पार्टीद्वारा मकवानपुरमा भित्तेलेखन

हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरमा भित्तेलेखन सुरु गरेको छ । चुनावको विरोध गर्दै मकवानपुरका दशवटै स्थानीय तहमा भित्तेलेखन अभियान सुरु गरेकोे नेकपा मकवानपुरमा एक नेताले बताए ।

‘जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेका हौँ । यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र हो । मंसिर ४ गतेको चुनावले जनचाहना पूरा गर्दैन,’ ती नेताले भने ।

त्यस्तै, गत कात्तिक १ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका थिए । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो, तर पछि रिहा गरिएको मकवानपुर प्रहरीले जनाएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन र प्रदेश सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमतसहितका चार पार्र्टीको अभियानअन्तर्गत मकवानपुरमा समेत निर्वाचनको विरोधका गतिविधि देखिन थालेको छ ।

चुनाव विरोधका गतिविधि भइरहेको भएपछि उक्त गतिविधि गर्नेलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

“लुकिछिपी यस्ता गतिविधि गर्दछन् । प्रकाउ गर्न सकिएको छैन । हामीले आफ्नो संयन्त्र प्रयोग गरिरहेका छौँ ।”उनले भने । त्यस्ता चुनावविरोधी गतिविधि गरिरहेको देखिएमा प्रहरीलाई सुचना दिनसमेत आम सर्वसाधारणलाई उनले आग्रहसमेत गरेका छन् ।
निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने तयारीमा ‘विप्लव’ नेतृत्वको पार्टी रहेको जिल्ला स्थित एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved