कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

नेपालभ्युज

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

सुर्खेत। सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् ।

जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन् । कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन् ।

जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।

प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपत्का कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन् । अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन् ।

कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ । यता निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाइ गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved