भोट माग्दै उम्मेदवारहरु खेतबारीमै, किसानलाई बाली भित्राउन भ्याइ नभ्याइ

नेपालभ्युज

भोट माग्दै उम्मेदवारहरु खेतबारीमै, किसानलाई बाली भित्राउन भ्याइ नभ्याइ
फाइल तश्वीर

म्याग्दी। म्याग्दीको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन् ।

म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा (क)अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा कांग्रेसका गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहेको छ । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिए ।

गठबन्धनको तर्फबाट प्रदेशसभा (ख)का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरी अभियानको सुरुआत गरेको टोलीले धवलागिरिको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेशसभा (ख) का संयुक्त निर्वाचन प्रचार–प्रसार समितिका संयोजक टङ्कप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागि छन् ।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गरेको छ । एमालेको यस टोलीले रघुगङ्गा–८, कुइनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेशनल मङ्गोल अर्गनाइजेशनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूलेसमेत घरदैलो अभियान चलाएका छन् । आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दलहरूले प्रचार–प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क)मा पाँच र (ख)मा छ उम्मेदवार बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved