काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरूको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ।
निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
शर्माका अनुसार त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ। त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन्। उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ।

राजनीतिक दलका नेताहरूले पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरुले बागी उम्मेदवारी दिएकाहरूको उम्मेदवारी फिर्ता गराउने प्रयास जारी राखेका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन्। यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
असोज २३ गते मनोनयन दर्ताको दिन दलका आधिकारीक उम्मेदवारविरुद्ध थुप्रै ठाउँमा बागी उम्मेदवारी दर्ता भएका छन्। केही उम्मेदवारी भने आयोगले खारेज गरेको छ।
सम्बन्धित समाचार
विष्णु पौडेलका प्रतिद्धन्दी राजु गुरुङको उम्मेदवारी खारेज
रेशम चौधरीको उम्मेदवारी खारेज
रुकुम पश्चिममा ओलीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर
Facebook Comment
Comment