ऐन नै संशोधन गरेर मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराई पदमुक्त

नियुक्तिको बखत उमेर हद नराखिए पनि केही दिन अघि ऐन संशोधन गरेर उमेर हद तोकिएको उनले बताए। संशोधन गरिएको ऐन अनुसार हाल ६० वर्ष नाघेपछि स्वायत्त पदमुक्त हुने व्यवस्था गरिएको छ र आफ्नो उमेर ६९ वर्ष भइसकेको हुँदा पदमुक्त भएको हो।

नेपालभ्युज

ऐन नै संशोधन गरेर मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराई पदमुक्त

जनकपुरधाम। ऐन नै संशोधन गरेर मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराई पदमुक्त गरिएको छ। मिडिया काउन्सिल सम्बन्धी ऐन संशोधन गरेर आफूलाई पदमुक्त गरिएको भट्टराईले बताए। नियुक्तिको बखत उमेर हद नराखिए पनि केही दिन अघि ऐन संशोधन गरेर उमेर हद तोकिएको उनले बताए। संशोधन गरिएको ऐन अनुसार हाल ६० वर्ष नाघेपछि स्वायत्त पदमुक्त हुने व्यवस्था गरिएको छ र आफ्नो उमेर ६९ वर्ष भइसकेको हुँदा पदमुक्त भएको हो।

भदौ ६ गतेको मन्त्रीस्तरीय निर्णयले उनलाई पदमुक्त गरिएको सञ्चार मन्त्रालयले जनाएको छ। भट्टराईलाई पदमुक्त भएको पत्र गृह तथा सञ्चार मन्त्रालयले बुधवार नै मिडिया काउन्सिल मधेश प्रदेशको कार्यालयमा पठाइसकेको छ।

भट्टराईलाई २०७७ माघ २९ गते मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको थियो। ऐन अनुसार नियुक्ति भएको मितिले पदावधि चार वर्षको समयसीमा थियो। तर, नियुक्ति भएको दुई वर्ष नबित्दै उमेरहद तोकेर उनलाई पदमुक्त गरिएको हो।

संशोधन गरिएको ऐन अनुसार मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका पदाधिकारी तथा सदस्यहरूले आफ्नो जिम्मेवारी बहन नगरेको पाइएमा विभागीय मन्त्रीले एक पटक स्पष्टीकरण सोध्ने र जवाफ चित्त बुझ्दो नआएमा पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

गृह तथा सञ्चार मन्त्रीमा नेकपा माओवादीबाट मन्त्री भएका भरत साहले गत वर्ष नै मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका सदस्यहरूलाई पदमुक्त गर्नको लागि स्पष्टीकरण सोधेका थिए । तर, सदस्यहरूले कानूनी बाटो रोजेपछि मन्त्री साह पछि हटेका थिए । अहिले मन्त्री साहले ऐन नै संशोधन गरेर स्पष्टीकरणपछि सोझै पदमुक्त गर्न सक्ने व्यवस्था गरेका छन् ।

पदमुक्त गर्ने व्यवस्था भएपछि मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरणका सदस्यहरूको पद जोखिममा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved