अब चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरेका छन् । अबको आवश्यकता युवा पुस्ता भएकाले त्यसलाई बेवास्ता गरे परिणाम गलत आउनेसमेत उनले आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले सिकेको बताएका छन् ।  

नेपालभ्युज

अब चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो प्रतिनिधि तथा प्रदेशसभामा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । पौडेलले नेपालकै पहिलो मुख्यमन्त्रीको रूपमा बागमती प्रदेशमा शपथग्रहण गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले आगामी निर्वाचनमा आफ्नो कुनै पनि क्षेत्रबाट उम्मेदवार नरहने जानकारी दिएका हुन् । नेकपा एमालेका नेतासमेत रहेका पौडेलले आफ्नो अबको जिम्मेवारी पार्टीका उम्मेदवारलाई विजयी गराउनेतर्फ हुने समेत बताएका छन् ।

सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएको भन्दै उनले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरेका छन् ।

अबको आवश्यकता युवा पुस्ता भएकाले त्यसलाई बेवास्ता गरे परिणाम गलत आउनेसमेत उनले आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले सिकेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिले देशले साँच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनकालागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरू एकजुट भएर लागि परेका छन्। यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका व्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ । सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालहरूमा आगामीनिर्वाचनका सम्भावित उमेदवारहरूका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको छ । त्यही क्रममा मेरो नाम जोडेर पनि केही चर्चा हुने गरेको छ । राजनीति लहड, रहर र दबाब मात्रैले पक्कै चल्दैन आवश्यकताको वस्तुपरक मूंल्याङ्नले निर्धारण गरेका कडीहरूका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हनसक्छ भन्ने कुराको हेक्का मेरो ५०औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले, आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरू प्रतिहार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । योपटक जनचाहनाअनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहनेछ । दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उम्मेद्वारहरूलाई विजयी गराउने हुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved