चितवनमा भूमि आयोगको ७० प्रतिशत काम सम्पन्न

नेपालभ्युज

चितवनमा भूमि आयोगको ७० प्रतिशत काम सम्पन्न

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जग्गा नापजाँचको काम ७० प्रतिशत सम्पन्न भएको जनाएको छ । चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले जिल्लामा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुर महानगरपालिकाका एक सय ८३ घरधुरीबाहेक अन्यलाई निस्सा वितरणको काम सकिएको छ । जग्गा नापजाँचका लागि सात पालिकामा ११ वडाबाहेक अन्यको काम सम्पन्न भएको उनले जानकारी दिए ।

हालसम्म आयोगले भरतपुर–२ क्षेत्रपुरमा रहेका दलित भूमिहीन सुकुम्बासी ४६ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । यस्तै भरतपुर–२९ मा ४६ परिवार, इच्छाकामनामा २८ परिवार र राप्तीका १७ परिवारलाई गाउँ ब्लकअन्तर्गतको जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा जिल्लाका सात पालिकामा ४१ हजार तीन सय ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सङ्ख्या रहेको छ । त्यसमध्ये भूमिहीन दलितको सङ्ख्या चार हजार पाँच सय ८३, भूमिहीन सुकुम्बासी १२ हजार ८७ र अव्यवस्थित बसोबासीको सङ्ख्या २४ हजार छ सय ६५ रहेको छ ।

आयोगको तथ्यांकअनुसार सबैभन्दा धेरै निवेदन भरतपुर महानगरपालिकाबाट परेको छ । यीमध्ये आयोगले यही भदौ ५ गते आइतबार भरतपुर–२ क्षेत्रपुरका एक सय ३३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागेको छ । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीको उपस्थितिमा जग्गा वितरण गर्न लागिएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूले सहरी क्षेत्रमा आठ धुर र ग्रामीण क्षेत्रमा एक कठ्ठा जग्गा पाउने छन् । कृषि क्षेत्रका लागि पाँच कठ्ठा पाउने तिमिल्सिनाले बताए । कृषियोग्य, सहरी, ग्रामीण र सहरोन्मुख गरी विभाजन गरिएको छ ।

चितवनमा भने ग्रामीण र सहरी क्षेत्रको रूपमा मात्रै वर्गीकरण गरिएको आयोग जिल्ला समितिका सदस्य सचिव गिरीशकुमार लाल कर्णले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved