भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण शुरु

आयोगले बुद्धशान्तिमा पाँच धुरदेखि १४ कठ्ठासम्म जग्गा जोतभोग गरिरहेका अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेको छ भने महारानीझोडामा चार दशक अघिदेखिको भूमि स्वामित्वसम्बन्धी समस्याको हल भएको अध्यक्ष पाण्डेले बताए।

नेपालभ्युज

भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण शुरु

दमक। झापामा राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणकार्य शुरु गरेको छ।

आयोगका अध्यक्ष तिलक पाण्डेले विगत ६ महीनामा ८३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेको बताए। गौरादह नगरपालिकास्थित महारानीझोडाका ५० र बुद्धशान्ति गाउँपालिकाका ३३ गरी ८३ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो।

वर्तमान सरकार गठन भएपछि जिल्लामा पाण्डेको अध्यक्षतामा सर्वदलीय प्रकृतिको आयोग गठन भएको थियो।

आयोगले बुद्धशान्तिमा पाँच धुरदेखि १४ कठ्ठासम्म जग्गा जोतभोग गरिरहेका अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेको छ भने महारानीझोडामा चार दशक अघिदेखिको भूमि स्वामित्वसम्बन्धी समस्याको हल भएको अध्यक्ष पाण्डेले बताए।

जिल्लामा विगतका आयोगले तथ्याङ्क सङ्कलन गरिसकेका ३५ हजार र नयाँ २५ हजार गरी ६० हजारभन्दा बढी परिवारलाई धनीपुर्जा वितरण गर्न आवश्यक रहेको उनको भनाइ छ। थप ६८५ परिवारलाई धनीपूर्जा वितरणको अन्तिम तयारी भइरहेको र आर्थिक वर्ष २०७९/८० मा छदेखि सात हजारसम्म परिवारलाई जग्गाको धनीपुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

आयोगले चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको कार्यालयमै आफ्नो कार्यालय सञ्चालन गर्दै आएको छ। “दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा काम छिटोछरितो हुनसकेको छैन,” उनले भने, “सबै पालिकामा हामी द्रुतगतिमा काम गरिरहेका छौँ। अबका दिनमा धेरै परिवारलाई धनीपुर्जा वितरण गर्न हामी सक्षम हुनेछौँ।”

राष्ट्रिय भूमि आयोगले हालै १३ प्राविधिक र नौ सर्वेक्षक गरी २२ जना कर्मचारी झापामा पठाएको उनले जानकारी दिए। उनका अनुसार अधिकांश कर्मचारीलाई फिल्डको अनुभव नहुँदा काममा असजिलो भइरहेको छ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा स्थानीय पालिकाहरूको सहयोग आवश्यक रहेको जनाउँदै उनले राजनीतिक दलहरूसँग पनि यस कार्यमा सहयोग र समन्वय गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved