अल्पमतमा मधेस सरकार : कसरतमा एमाले र माओवादी केन्द्र

एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे पनि जनमतको पनि दाबी छ । यद्यपी, जनमतलाई आलोपालोमा मुख्यमन्त्री दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

अल्पमतमा मधेस सरकार : कसरतमा एमाले र माओवादी केन्द्र

काठमाडौं । मधेस प्रदेशबाट नेकपा एमाले र माओवादी केन्द्रले आइतबार समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

अल्पमतमा परेको जनता समाजवादी पार्टी(जसपा), नेपालका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार जोगाउन बहुमत जुटाउने कसरतमा लागेको छ भने अर्कोतिर सरकारबाट बाहिरिएका एमाले र माओवादी गठबन्धनबाट नयाँ नेतृत्वको सरकार बनाउने गृहकार्यमा जुटेको छ।

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अब सरकारसँग २७ सांसदको समर्थन छ ।

अर्कोतिर सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरी सरकार बनाउने कसरतमा छ ।

जसमा एमालेका २५, माओवादीका नौ, जनमतका १३ र लोसपाका आठ गरी ५५ जना सांसद छन् ।

यो समीकरणमा नेकपा एकीकृत समाजवादी पनि रहेको माओवादीका दलका नेता भरतप्रसाद साहले बताए । उनले भने, ‘‘माओवादीले नेतृत्व पाउनुपर्ने पहिले देखिको अडान र माग छ । तर, नेतृत्वको विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन ।’

तर, आफ्नो दलको अहिलेकै गठबन्धनमा समर्थन रहेको एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले जानकारी दिए ।

एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे पनि जनमतको पनि दाबी छ । यद्यपी, जनमतलाई आलोपालोमा मुख्यमन्त्री दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

यता नेपाली कांग्रेस २२, जसपा नेपालका १९ (विभाजन हुनुअघि), एकीकृत समाजवादीका सात, लोसपाका आठ गरी ५६ सांसदको समर्थनमा अर्को गठबन्धन बनाउन पहल पनि भइरहेको एक नेताले बताए।

मधेसको पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ परिस्थिति आएकोले नयाँ गठबन्धन बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व रहेका दलका नेतासँग छलफल भइरहेको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

अल्पमतमा परेको यादव नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

यसबीचमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न सकिने अवस्था रहेको हुँदा अहिले यसै भन्न सकिने अवस्था छैन ।

दश दलको प्रतिनिधित्व रहेको मधेस प्रदेश सभामा १०७ सदस्य छन् । जसमध्ये एमाले ठूलो दल हो । मधेसमा सरकार बनाउन न्यूनतम ५४ सदस्यको समर्थन आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved