टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, किशोर महतोको डेब्यू

यसै खेलमार्फत किशोर महतोले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्।

नेपालभ्युज

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, किशोर महतोको डेब्यू

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डसँगको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ।

यसै खेलमार्फत किशोर महतोले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्।

आइतबार नामिबियासँगको खेलमा पराजित टिममा नेपालले आज तीन परिवर्तन गरेको छ। किशोरसँगै विनोद भण्डारी र करण केसी टिममा फर्किएका छन्। अघिल्लो दिनको टिमका आदिल अन्सारी, पवन सर्राफ र बसिर अहमदलाई आज बेन्चमा छन्।

लिग–२ अन्तर्गतको आयोजक स्कटल्याण्ड र नामिबियासँगको क्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालले आज चौँथो तथा अन्तिम खेल खेल्दैछ।

यो श्रृंखलामा स्कटल्याण्ड र नामिबियासँग नेपालले दुई–दुई ओटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका रहेको थियो। श्रृङ्खलाको यसअघिको स्कटल्याण्डसँगको पहिलो खेल नेपालले पाँच विकेटले जितेको थियो।

शानदार बलिङका कारण स्कटल्याण्डलाई १४४ रनमा रोक्न सफल नेपालको लागि स्कटल्याण्डविरुद्धको उक्त जित हालसम्मकै पहिलो जित थियो। तर जारी श्रृङ्खलामा नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भयो। दुवै खेलमा बलिङमा राम्रो प्रदर्शन गर्दै नामिबियालाई विशाल स्कोर बनाउन नदिए पनि सम्हालिएको ब्याटिङ प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भएको थियो।

लिग–२ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने बाटो हो। यस लिग–२ मा शीर्ष तीनभित्र पर्ने टिमले सिधै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउने छन्।

साथै आईसीसीको एकदिवसीय मान्यता जोगाउन पनि नेपालको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। सात राष्ट्र सहभागी यो लिग–२ को शीर्ष पाँचभित्र पर्न सके नेपालको एकदिवसीय मान्यता यथावत् रहन सक्छ।

हाल लिग–२ मा नेपाल तालिकाको छैँटौ स्थानमा छ। १९ खेलमा ८ जितपछि नेपालको १७ अंक छ। एक खेल कम खेलेको नामिबिया १८ अंकसहित नेपालभन्दा एक स्थानमाथि पाँचौ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved