प्रचण्डको दाबी : एसपीपी ओली नेतृत्वको सरकारले अघि बढाएको हो

नेपालभ्युज

प्रचण्डको दाबी : एसपीपी ओली नेतृत्वको सरकारले अघि बढाएको हो
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेनासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्झौता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै अघि बढाएको दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले एसपीपीको आधिकारीक वेब साइटमा नेपाल सन् २०१९ बाटै एसपीपीमा सहभागी भएको उल्लेख गरिएको र तत्कालीन समयमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार रहेको बताए।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित दोलखा जिल्लाका शहीद रितबहादुर खड्काको २१ औँ स्मृतिसभामा वर्तमान सरकारले कुनै सम्झौता नगरेको दाबी गर्दै उनले एसपीपीमा सम्झौता गरेको हल्ला निराधार रहेको बताए।

गठबन्धन दलबीच छलफल नभइ कुनै पनि देशसँग कुनै सम्झौता नहुने उनले स्पष्ट पारे। “देशमा फेरि एकपटक राष्ट्रवादको झुटो खेल खेल्न थालिएको छ,” दाहालले भने, “हिजोआज एसपीपी सम्झौता हुँदैछ भन्ने कुरा आएको छ, यसमा कुनै सत्यता छैन।”

वर्तमान सत्ता गठबन्धनले कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सहभागी नहुने प्रतिबद्धता जाहेर गरेको समेत दाहालको दाबी छ। उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणका क्रममा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सहभागी हुने सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।”

नेपालमा एसपीपीका विषयमा विभिन्न कोणबाट बहस हुँदै गर्दा नेपालस्थित अमेरिकी दूतावासले नेपालले दुई पटक आग्रह गरेपछि नेपाललाई एसपीपीमा सहभागी गराएको दाबी गरेको छ। यता नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भने नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सा नहुने प्रष्ट पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved