बेलिबृज खोलिएपछि ६ महीनाका लागि बन्द भयो गाईघाट–दिक्तेल सडकखण्ड

वर्षायाम शुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिबृज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनायो।

नेपालभ्युज

बेलिबृज खोलिएपछि ६ महीनाका लागि बन्द भयो गाईघाट–दिक्तेल सडकखण्ड

उदयपुर। सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड ६ महीनाका लागि बन्द गरिएको छ।

गत मंसीरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड ६ महीनाका लागि बन्द भएको हो।

सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिबृज खोलिएपछि अब ६ महीनाका लागि पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ। यहाँ ६ महीनापछि पुनः अस्थायी बेलिबृज जडान गरिने छ।

कार्यालयका अनुसार गाईघाट-दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका-५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मंसीरमा जडान गरिएको अस्थायी बेलिबृज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको हो।

वर्षायाम शुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिबृज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनायो।

उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिबृज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ। उक्त बेलिबृज हटाइएपछि गाईघाटदेखि दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएका यातायातका साधन ६ महीनाका लागि बन्द भएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरले जनाएको छ।

उक्त सडकखण्डमा सम्पूर्ण यातायातका साधन बन्द हुँदा दैनिक खाद्यान्न ढुवानी र उपभोग्य वस्तु आपूर्तिमा जटिल समस्या आएको खोटाङ दिप्रुङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठ बताए। “बेलिबृज हटाएपछि खोटाङको तल्लो क्षेत्रमा दैनिक उपभोग्य वस्तु र खाद्यान्न ढुवानीमा समस्या परेकाले स्थानीयलाई निकै समस्या पर्दछ,” उनले भने।

खोटाङको दक्षिणी क्षेत्र र तल्लो पूर्वी क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु प्रायः विराटनगर, धरान, इटहरी, सप्तरी र उदयपुरको गाईघाटबाट दिक्तेल सडक हुँदै ढुवानी गर्ने गरेका थिए। यस्तै बेलिबृज हटाइएपछि खोटाङ पश्चिम तथा उत्तरी क्षेत्र नागरिकले भने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुङ्गाको हर्कपुर, जयराम घाट, हलेसी हुँदै दैनिक उपभोग्य सामग्री ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनोमोहन अधिकारीले सगरमाथा लोकमार्गअन्तर्गत १५८ किलोमिटर लामोदूरीको गाईघाट-दिक्तेल सडकखण्डको औपचारिक शिलान्यास गरेका थिए।

२७ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन सकेको छैन। साथै २०६७ मा सुनकोसी नदीमा निर्माण शुरु गरिएको पक्की पुल ११ वर्ष बितिसक्दा पछि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन।

सुनकोसी नदीमा पक्की पुल निर्माण सम्पन्न नहुँदा विसं २०७० देखि हिउँद समयमा अस्थायी बेलिबृज प्रयोग गरिँदै आइएको थियो। सोही बेलिबृज वर्षायाममा खोल्ने र हिउँदा जोड्ने गरिएको हो।

यस वर्ष ६ महीनासम्म सञ्चालनमा आएको गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसीको पचास मिटर लम्बाई र ६ मिटर चौडाईको अस्थायी बेलिबृज ६ महीनापछि पुनः जोडिने कन्स्ट्रक्सनका महेश रेग्मीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved