छात्रालाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षकलाई कलेजले बचाएपछि विद्यार्थीले घेरे प्रहरी चौकी

दुर्व्यवहारमा परेकी छात्राको साथीले नेपालभ्यूजसँग भनिन्, ‘‘हाम्रो क्लासको चार जनालाई त्यो सरले आफ्नो रूपमा छुट्टाछुट्टै बोलाएर आफ्नो सेक्स पार्टनर बन्न प्रस्ताव गर्नुभएको रहेछ। आफ्नो कुरा मान्यो भने सबै पढाइ खर्च मिनाहा गरिदिने, आन्तरिक परीक्षामा नम्बर थपिदिने भन्नुभएछ।’’

छात्रालाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षकलाई कलेजले बचाएपछि विद्यार्थीले घेरे प्रहरी चौकी

काठमाडौं।  यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेज प्रशासनले नै बचाएको भन्दै चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन्। कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको घटना कलेज प्रशासनले लुकाउन खोजेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। कलेजमा आन्दोलन गरेका विद्यार्थीहरुले अहिले महानगरीय प्रहरी वृत्त गौशाला घेराउ गरेका छन्। दुई साताअघि नै सार्वजनिक भएको घटनालाई कलेज प्रशासनले लुकाएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्।

दुई वर्षअघिदेखि नै केही विद्यार्थीले शिक्षक अधिकारीबाट दुर्व्यवहार भोगेको बताएका तर त्यसबेला कसैले नपत्याएको विद्यार्थीहरूले बताएका छन्। तर, अहिले आफूहरुले नै भोगेपछि मात्र शिक्षकको कर्तुत खुलासा भएको छात्राहरू बताउँछन्। पछिल्लो दुई महीनायता कक्षा ११ मा अध्ययनरत चार जना छात्रालाई शिक्षक अधिकारीले ‘सेक्स पार्टनर’ बन्नका लागि प्रस्ताव गरेको विद्यार्थीले आरोप लगाएका छन्।
दुर्व्यवहारमा परेकी छात्राको साथीले नेपालभ्यूजसँग भनिन्, ‘‘हाम्रो क्लासको चार जनालाई त्यो सरले आफ्नो रूममा छुट्टाछुट्टै बोलाएर आफ्नो सेक्स पार्टनर बन्न प्रस्ताव गर्नुभएको रहेछ। आफ्नो कुरा मान्यो भने सबै पढाइ खर्च मिनाहा गरिदिने, आन्तरिक परीक्षामा नम्बर थपिदिने भन्नुभएछ।’’

आफूले ‘सेक्स पार्टनर’को प्रस्ताव गरेको एक छात्रासँगै बसेको भन्दै एक पुरुष विद्यार्थीलाई पनि शिक्षक जनार्दन अधिकारीले केही दिनअघि पाइपले कुटेर घाइते बनाइदिएका विद्यार्थीले बताएका छन्। आफ्नो प्रस्ताव नमानेको छात्राहरूलाई समेत उनले विभिन्न बहानामा मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए।

विद्यार्थीले आफूमाथि भएको दुर्व्यवहारका बारेमा आफ्ना अभिभावकलाई जानकारी गराएका थिए। दुर्व्यवहारमा परेका छात्राका अभिभावकले कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई भेटेर घटनाका बारेका जानकारी गराएका थिए। अभिभावकले शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने र विद्यार्थीलाई अर्को कलेजमा पढाउने बताएका थिए।

तर, प्रिन्सिपल पुरुषोत्तम महर्जन, विद्यालयका अध्यक्ष केशव प्रसाद दंगाल, कलेजका एमडी ताराप्रसाद सुवेदीलगायतले घटनालाई बाहिर नलैजान आफूहरूलाई दबाब दिएको अभिभावकहरूले बताएका छन्।

‘‘घटना बाहिर लग्यो भने कलेजको बदनाम हुन्छ। अरू विद्यार्थी पढ्न आउँदैनन्। साथै तपाईँहरूका छोराछोरीको पढाइ बिग्रन्छ भनेर भन्नुभयो। दुर्व्यवहार गर्ने शिक्षकलाई हामी आफैँ कारबाही गर्छौँ भन्नुभएको थियो,’’ दुर्व्यवहारमा परेकी एक छात्राका बुबाले नेपालभ्यूजसँग भने।

तर, शिक्षक जनार्दन अधिकारीबाट दुर्व्यवहार नरोकिएपछि आन्दोलनमा उत्रनुपरेको विद्यार्थीले बताएका छन्। उक्त विद्यालयका विद्यार्थी अजय कार्कीले भने ‘‘यस्तो अपराधी शिक्षकलाई बचाउन खोज्ने कलेज प्रशासनलाई पनि कारबाही हुनुपर्छ। दुई साताअघि नै कारबाही गर्नुपर्ने कुरा चलेको थियो। तर प्रिन्सिपल सरलगायतले बचाए। फेरि उसको दुर्व्यवहार नरोकिएपछि हामीले कजेलमा आन्दोलन गरेका हौँ।’’

मंगलबार आफूहरूले कारबाहीको माग गर्दै कलेज बाहिर प्रदर्शन गरेपछि दुर्व्यवहार गर्ने शिक्षक जनार्दन अधिकारीलाई कलेज प्रशासनले भगाएको विद्यार्थीको आरोप छ। कलेजमा प्रदर्शन चर्किएपछि अभिभावक र कलेज प्रशासनबीच महानगरीय प्रहरी वृत्त गौशालामा छलफल भइरहेको छ। छलफलमा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बचाउने षड्यन्त्र हुनसक्ने भन्दै विद्यार्थीले चौकी घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले अभिभावक र कलेज प्रशासनबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले बताए। उनले भने, ‘‘अहिले उहाँहरुबीच छलफल भइरहेको छ। पीडित पक्षलाई उजुरी दिन भनेका छौँ। त्यसपछि अनुसन्धान गर्नेछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved