‘आँप’सँग हारेका वडले गरे आँपको रूखमुनि पत्रकार सम्मेलन

गठबन्धनमा रहेका दलहरूले असहयोग गरेको गुनासो

नेपालभ्युज

‘आँप’सँग हारेका वडले गरे आँपको रूखमुनि पत्रकार सम्मेलन

धनगढी । धनगढी उपमहानगरपालिका निर्वतमान मेयर नृपबहादुर वडले आइतबार धनगढीमा प्रेस मिट आयोजना गरे। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका वडले मेयरमा पराजित भएपछि प्रेस मिटको आयोजना गरेका थिए।

चुनाव चिह्न ‘आँप’ पाएका स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग दोब्बरबढी मतले हारेका वडले आयोजना गरेको प्रेस मिटमा रोचक कुरा थियो लटरम्म फलेको आँपको रूखमुनि बसेर दुःखेसो पोख्नु !

धनगढीको साथी होटलको प्राङ्गणमा पाक्नै लागेको आँपको रूखमुनि आयोजना गरिएको प्रेस मिटमा निर्वतमान मेयर वडले आफूले पराजय बेहोर्नुको कारण र आफ्नो कार्यकालमा गरेका कामहरूलाई बुदागत रूपमा बताइरहेका थिए।

उनले प्रेस मिटमा आफ्नो दुःखेसो व्यक्त गरिरहँदा पछाडि बसेका पत्रकारहरू खित्का छोडेर हाँसिरहेका थिए। आँपको रूखमुनि पत्रकार सम्मेलन गरेका उनलाई कतिपय पत्रकारहरूले त माथिबाट आँप खस्ला है भन्ने सम्मको टिप्पणीसमेत गर्न भ्याएका थिए।

पाँच वर्ष कार्यकाल सम्हालेर भारी मतान्तरले पराजय बेहोरेका वडले त्यो परिस्थितिलाई सामान्य रूपमा लिए। उनले प्रेस मिटमा आफ्नो भनाइहरू राखे।

आफ्नो पाँच बर्से कार्यकालमा भएका कामहरू बुदाँगत रूपमा प्रस्तुत गरेर आफ्नो पराजयको कारण उनले सुनाए।

प्रेस मिटमा वडले आफ्नो दल नेपाली कांग्रेसबाट पूर्ण सहयोग पाएको र गठबन्धनका अन्य दलबाट भने अलिकति पनि सहयोग नपाएको गुनासो गरे।

के तपाईंलाई गठबन्धन दलहरूबाट असहयोग भएको हो ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “यहाँ गठबन्धन भए पनि नामको गठबन्धन थियो, हामीले अन्य पालिकाहरूमा इमानदारितासाथ साथ सहयोग गर्‍यौं, धनगढीमा हामीलाई धोका भयो,” उनले थपे, “म पार्टीबाट चुनाव लडे पनि स्वतन्त्र लडेको हुँ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका वडले धनगढीमा गठबन्धनका दलहरूबाट असहयोग भएको कुरा केन्द्रीय कमिटीमा उठाउने बताए।

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे। “मैले धेरै राम्रा काम शुरु गरेको छु र विकासको जग बसिसकेको छ,” उनले भने, “राम्रा कामलाई निरन्तरता दिनुहोला, नराम्रा कामलाई सच्याएर जानुहोला, मेरो राम्रा काममा सहयोग रहनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved