ईश्वरपुरमा एमालेका मनोजलाई कांग्रेसका मनोजले भारी मतान्तरले हराए

नेपालभ्युज

ईश्वरपुरमा एमालेका मनोजलाई कांग्रेसका मनोजले भारी मतान्तरले हराए

जनकपुरधाम। सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मनोज देवकोटालाई भारी मतान्तरले हराउँदै नेपाली कांग्रेसका मनोज आचार्य विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ८ हजार ४ सय ८० मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवकोटाले पाँच हजार ९ सय ६० मत मात्र पाए।

त्यस्तै उपप्रमुखमा पनि एमालेकी एकावतीदेवी चौधरीलाई हराउँदै कांग्रेसकी रञ्जितादेवी चौधरी विजयी भइन्। रञ्जितादेवीले ८ हजार २ सय ६८ मत पाउँदा एकावतीले भने ६ हजार ३ सय ५३ मत पाइन्।  एमालेका पराजित दुवै जना निवर्तमान मेयर उपमेयर हुन्।

योसँगै सर्लाहीमा १८ पालिकाको नतिजा सार्वजनिक भएको छ भने ११ पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ, ४ पालिकामा माओवादी, २ पालिकामा जसपा र १ पालिकामा लोसपाले जितेको छ। एमालेले अहिलेसम्म जिल्लाका कुनै स्थानीय तहमा जित निकालेको छैन। बरहथवा नगरपालिकामा भने नेकपा एमालेकी कल्पना कटुवालले माओवादीका उम्मेदवार देवानन्द महतोलाई पछि पारेकी छन्।

एमालेले जिते जिल्लामा यही एक नगरपालिका मात्र हुनेछ।

२०७४ सालको स्थानीय निर्वाचनमा अधिकांश वडासहित नगरपालिकाको प्रमुख पदमा जितेको एमालेले यो पटक मेयरमा नराम्रोसँग पराजित भयो। यद्यपि यो पटक पनि अधिकांश वडाहरूमा भने एमालेले जित निकाल्न सफल भयो। १५ ओटा वडा रहेको नगरपालिकामा कांग्रेस र एमालेले ६/६ वडा जिते भने माओवादी, जसपा र लोसपा १/१ वडा जित्न सफल भए।

ईश्वरपुर नगरपालिकामा वडाहरूको नतिजा
वडा नं.१ नेकपा एमाले (धरमेन्द्र यादव)
वडा नं.२ नेकपा एमाले (सुरेन्द्र ब. कार्की)
वडा नं.३ नेकपा एमाले (विश्वनाथ सहनी)
वडा नं.४ नेपाली कांग्रेस (प्रेम थिङ तामाङ)
वडा नं.५ जसपा (पञ्ची महतो)
वडा नं. ६ नेकपा एमाले (मोहम्मद रहमन अन्सारी)
वडा नं. ७ नेपाली कांग्रेस (नाथुराम चौधरी)
वडा नं.८ नेपाली कांग्रेस (श्यामबहादुर थापा)
वडा नं. ९ नेपाली कांग्रेस (नन्दिलाल चौधरी)
वडा नं. १० नेपाली कांग्रेस (रास नारायण चौधरी)
वडा नं. ११ लोसपा (रामदुलार साह)
वडा नं. १२ नेकपा एमाले (देवी बहादुर केसी, शिव)
वडा नं. १३ नेकपा एमाले (तिलबहादुर लामा)
वडा नं. १४ माओवादी केन्द्र (शितकुमार महतो)
वडा नं.१५ नेपाली कांग्रेस (उमेश चौधरी)

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved