मठिहानी नगरपालिकामा हरिप्रसाद मण्डल दोश्रो कार्यकालका लागि निर्वाचित

भन्छन् : काम गर्दा जनताले मूल्यांकन गर्छन्

नेपालभ्युज

मठिहानी नगरपालिकामा हरिप्रसाद मण्डल दोश्रो कार्यकालका लागि निर्वाचित

जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिकाको मेयरमा हरि प्रसाद मण्डल पुनः दोश्रो कार्यकालका लागि विजयी भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उम्मेदवारी दिएका मण्डल फराकिलो मतान्तरले विजयी भएका हुन्। निर्वाचन अधिकृत कुलवहादुर फेडराका अनुसार मण्डलले ४ हजार ३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मजिवुल रहमानले २ हजार ६७४ मत ल्याएका छन्।

मण्डल १ हजार ३ सय २९ मतान्तरले विजयी भएका हुन्।

त्यस्तै उपमेयरमा लोसपा नेपालकी मञ्जुदेवी ३ हजार ८ सय ६४ मत ल्याएर विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन्।उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मन्जु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताएको छ।

काम गर्दा जनताले मूल्यांकन गर्छन् : मेयर मण्डल

दोश्रो कार्यकालका लागि पुन: निर्वाचित भएपछि मेयर मण्डलले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “काम गर्दा जनताले मूल्यांकन गर्छन् भन्ने विश्वास थियो। जुन आज भोट गरेर जनताले प्रत्यक्ष रुपमा देखाएको छ।”

उनले भने, “मलाई विश्वास गरी पुनः मत दिएर विजयी बनाएका मिठिहानीका जनताप्रति आभार व्यक्त गर्दछु। शुभचिन्तक, पार्टीका कार्यकर्ता, नेताहरूलाई धन्यवाद दिन्छु। उहाँहरूले मलाई सहयोग गरेर मेरो जित सुनिश्चित बनाइदिनुभयो”, मेयर मण्डल भन्छन्, “मलाई विश्वास थियो कि मैले पहिलो कार्यकालमा नेतृत्व गर्दा यहाँका जनताका लागि काम सबै क्षेत्रमा काम गरेको छु। निश्चित रुपमा जनताले दोस्रो पटक पनि मौका दिनुहुन्छ। म यसमा सफल भएँ।”

मण्डलको पृष्ठभूमि पत्रकारिता हो। उनी तीन कार्यकाल नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष भएका थिए। उनकै कार्यकालमा महोत्तरीको महासंघको भवन निर्माण भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved