जितपुर-सिमरामा उपमेयरसहित १३ वडाध्यक्ष एमालेले जित्दा मेयर भने माओवादीको पोल्टामा

टिकट वितरणमा केन्द्रीय सदस्यहरू अच्युत मैनाली, पुरुषोत्तम पौडेल र ज्वाला साहबीच शक्ति र टिकटको ‘लेनदेन’ मिलाउँदा भेग र समुदाय नमिलाउनु पनि पराजयको कारण भएको एमालेका एकजना जिल्ला नेताले बताए।

नेपालभ्युज

जितपुर-सिमरामा उपमेयरसहित १३ वडाध्यक्ष एमालेले जित्दा मेयर भने माओवादीको पोल्टामा

सिमरा। जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का राजन पौडेल विजयी भएका छन्। २४ मध्ये १३ ओटा वडाध्यक्षसहित उपमेयर जितेको एमाले मेयरमा भने पराजित भएको हो।

उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार भोलाप्रसाद अधिकारी विजयी भएका छन्। उम्मेद्वारी चयनमा बारा जिल्लाका केन्द्रीय नेताहरूको निजी स्वार्थमा एमालेले पहिलो पटक नगरको नेतृत्व गुमाएको हो।

यसअघि छ ओटा वडा जित्दा मेयर र उपमेयर जितेको एमालेले यसपटक १३ ओटा वडाध्यक्ष प्यानलसहित जित्दा पनि मेयर गुमाउनुको कारण यसअघिको एमालेका मेयर–उपमेयरले पाँच वर्षे कार्यकालको अक्षमता नै प्रमुख भएको स्थानीयको बुझाइ छ।

“यसअघिका मेयर कृष्ण पौडेलको कार्यकालमा उनी शिथिल रहे, भ्रष्टाचारको अभियोगमा अख्तियारमा उजुरीको चाङ छन्। उनले मेयरको उम्मेद्वारी दाबी समेत गरेनन्, ” एमाले जिल्ला कमिटीका एक जना सदस्यले नाम नलेख्न आग्रह गर्दै भने, “अख्तियारमा उजुरी नै उजुरी भएकी उपमेयर सरस्वती चौधरीलाई टिकट दिइयो। यसै कारण उनकै वडा सिमराको १ र ४ दुवैबाट उनले पराजित हुनुपर्यो। जुन उपमहानगरपालिका गुमाउनुको कारण बन्यो।”

टिकट वितरणमा केन्द्रीय सदस्यहरू अच्युत मैनाली, पुरुषोत्तम पौडेल र ज्वाला साहबीच शक्ति र टिकटको ‘लेनदेन’ मिलाउँदा भेग र समुदाय नमिलाउनु पनि पराजयको कारण भएको उनले बताए। “आधाभन्दा बढी मतदाता पहाडी मूलका छन्.। १५-२० प्रतिशत चौधरी छन्, जुन एमालेको मुख्य आधार हो,” उनले भने, “यसअघि सधैँ प्रमुख पहाडी मूल भएको समुदाय र उपप्रमुख चौधरी उठाएर जितिन्थ्यो। यसपटक समुदाय पनि मिलाइएन।”

भेगका हिसाबले पनि दुवै जना उम्मेद्वार सिमराको वडा नम्बर १ का बासिन्दा हुन्। हाल उपमेयर सिमराको ४ नम्बरमा बस्थिन्। एमालेको मुख्य ठाउँ डुमरवानालाई उपेक्षा गर्नु पनि हारको मुख्य कारण रहेको त्यहाँका एमालेको बुझाइ छ। त्यसैको परिणामस्वरुप समुदायगत हिसाबले माओवादीका मेयर उम्मेद्वार राजन पौडेलले लाभ लिएको स्थानीय एमाले नेताको बुझाइ छ। “मतदाताले हामीलाई माया गरेका छन् केही केन्द्रीय नेताको अक्षमताले गर्दा ०४३ सालपछि पहिलो पल्ट हारेका छौं,” उनले भने।

नगरभरिमा १३ ओटा वडा जितेकाले अब हारको जिम्मेवारी स्थानीय नेता वा पार्टीलाई लगाएर नेताको अयोग्यता छोप्ने प्रयास गर्न नहुने उनले बताए। सबैभन्दा राम्रो परिणाम मेयर-उपमेयर दुवै उम्मेद्वार उठाएको सिमराभन्दा डुमरवाना, छातापिप्रा, फत्तेपुरबाट राम्रो मत पाएको उनले जानकारी दिए।

माओवादीका मेयर राजन पौडेलको अघिल्लो पटक पराजित भएदेखिको निरन्तरको मेहनत र सरल जीवनशैलीले पनि उनको विजयमा मद्दत गरेको स्थानीयको बुझाइ छ । माओवादीका राजन पौडेलले अठार हजार सात सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित हुँदा एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार सात सय ७९ मत प्राप्त गरिन्।

यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार अधिकारीले १७ हजार चार सय ९२ मत प्राप्त गरी विजयी भए भने गठबन्धनकी कांग्रेस उम्मेदवार मेघा शाहीले १५ हजार आठ सय ४२ मत प्राप्त गरिन्। अधिकारीले एक हजार ६ सय ५० मतले जित हात पारेका हुन्।

बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतपरिणाम आउँदा एमालेले १३, कांग्रेसले पाँच, माओवादीले चार, लोसपाले एक र एकीकृत समाजवादीले एक वडामा जित हात पारेको छ।

वडा नं. १ : हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)

वडा नं. २ : धनबहादुर श्रेष्ठ (नेकपा एमाले)

वडा नं. ३ : ताराबहादुर कार्की (नेकपा एमाले)

वडा नं. ४ : भोजबहादुर खत्री (नेकपा माओवादी)

वडा नं. ५ : दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)

वडा नं. ६ : कैमुदिन अन्सारी (नेकपा एमाले)

वडा नं. ७ : सुनील गुप्ता (नेकपा एमाले )

वडा नं. ८ : शिवशंकर कुशवाहा (नेकपा एमाले)

वडा नं. ९ : मोतीलाल यादव (लोसपा)

वडा नं.१० : सञ्जय पटेल (नेकप एस)

वडा नं.११ : विन्दालाल साह (नेकपा माओवादी)

वडा नं.१२ : श्यामबाबु खाँ (नेकपा एमाले)

वडा नं.१३ : हेमनारायण चौधरी (नेकपा एमाले )

वडा नं.१४ : चयन गुरुङ मगर ( नेकपा एमाले)

वडा नं.१५ : रामप्रसाद लामिछाने( नेकपा माओवादी)

वडा नं.१६ : हरिदेव खरेल (नेकपा एमाले)

वडा नं.१७ : भीम लामा (नेकपा एमाले)

वडा नं.१८ : चतुरबाबु वाग्ले (नेपाली कांग्रेस)

वडा नं.१९ : दीपेन्द्र क्षेत्री (नेकपा माओवादी)

वडा नं.२० : रसुल मिया अन्सारी (नेकपा एमाले)

वडा नं.२१ : सुवास श्रेष्ठ (नेकपा एमाले)

वडा नं.२२ : शेखर काजी रुम्बा (नेपाली कांग्रेस)

वडा नं.२३ : मुस्तकिम अन्सारी (नेकपा एमाले)

वडा नं.२४ : सुलतान अन्सारी (नेपाली कांग्रेस)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved