मतगणना शुरु भएको पाँच दिनभित्र सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले मतगणना कार्य शुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले मतगणना कार्य शुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ।

मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता नगर्न आयोगले आग्रह समेत गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्माा पौडेलले बुधबार विज्ञप्ति जारी गरी नेपालको संविधान बमोजिम विभिन्न तहका निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको समग्र जिम्मेवारी निर्वाचन आयोगमा रहेको र आयोगले निर्वाचन सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेको प्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

“निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ। तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टीकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ।”

मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ। वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाको मतगणना कार्य प्रारम्भ भई आज मध्याह्नसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहहेको छ।

विद्यमान कानुनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म छ। तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गर्न पनि निर्देश गरिएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved