बदर भएको १३ मत हराएको भन्दै मतगणनामा एमालेको अवरोध

नेपालभ्युज

बदर भएको १३ मत हराएको भन्दै मतगणनामा एमालेको अवरोध

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ।

एमालेका कार्यकताले मतगणनास्थलबाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो।

बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बुढीगंगा ४ मा नेपाली कांग्रेसका उम्मेदवार शशिकान्त चौधरीले ८१९ मत ल्याएर विजयी भएका थिए।

एमालेका सागर बरालले ८०८ मत ल्याएका थिए। दुईबीचको प्रतिस्पर्धाको निष्कर्ष ११ मतअन्तरको थियो। त्यस क्रममा १३ मत हराएको थियो। त्यो मतको विषयमा एमालेले बुझ्दा बदर भएको भनिएको थियो। तर, बदर भएको मतसमेत नभेटिएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै सोमबार साँझ नाराबाजी गरिएको हो।

निर्वाचन अधिकृत मणिराम पोखरेलले दलका अवरोधका कारण मतगणना रोकिएको बताए। अन्तिम मतपरिणाम आइसकेको वडाको पुनः मतगणना गर्न नसकिने निर्वाचन अधिकृतको कार्यालयले अडान लिएको छ।

बुढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार वलभद्र सारदार थारूले ४ हजार ३९० मत ल्याएर आग्रता लिएका छन्। कांग्रेसका उम्मेदवार जितनारायण थापा मगर ३ हजार ९ सय ५३ मत ल्याएका छन्।

माओवादी केन्द्रका उम्मेदवार ईश्वरी प्रसाद आचार्य १ हजार १ सय ६ मत ल्याएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेस अमृता कुमारी गच्छदार ४ हजार १ सय ८४ मतसहित अग्रता लिइरहेकी छन्। एमाले उम्मदवार तुलसी कुमारी कुँवरले ३ हजार ७ सय ५३ मत र एकीकृत समाजवादीका माधवकाजी घिमिरेको ६३९ मत छ।

नेकपा एमालेका नेता सत्यनारायण चौधरीले ११ मतान्तरले विजयी भएका उम्मेदवारको पक्षमा पार्नका लागि १३ मत गायब बनाएको हुन सक्ने आरोप लगाए।

मतगणनाका क्रममा केही त्रुटि भएको हुन सक्ने भएकाले पुनः मतगणना गर्नुपर्ने माग गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved