‘कांग्रेसजनले रूखमा भोट हाल्ने कष्ट गर्नु नपर्ने भयो, आज छोरी र भोलि भाइभतिजाको जिम्मा लिनुपर्छ’

नेपालभ्युज

‘कांग्रेसजनले रूखमा भोट हाल्ने कष्ट गर्नु नपर्ने भयो, आज छोरी र भोलि भाइभतिजाको जिम्मा लिनुपर्छ’

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न आग्रह गरेका छन्।

मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलवार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पुर्याउने जिम्मा एमालेको भएको बताए।

नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले भएकाे ओलीकाे दाबी छ। ‘‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो। आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योगधन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’’ उनले भने, ‘‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले नै चलाइरहेको छ। कोही पनि अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ।’’

युवाहरुलाई विदेश पठाउने हाेइन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनकाे भनाइ छ। एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएकाे उनले बताए। उनले भने, ‘‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस्। एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ। जनतासँगका प्रतिबद्धता पूरा गर्नेछौँ। जनतालाई कहिल्यै धोका दिँदैनौँ।’’

एमालेको सरकार स्थानीय तहमा भएन भने माथिबाट पठाएको बजेट बालुवामा पानी हालेजस्तो हुने उनकाे दाबी छ। त्यस्ता दुरुपयोग रोक्न पनि तीनै तहमा एमालेको सरकार आवश्यक रहेकाे उनले बताए।

सबैभन्दा पीर मुलुकमा अहिले कांग्रेसका कार्यकर्तालाई परिरहेको पनि ओलीले बताए। उनले भने, ‘‘पोखरा, भरतपुरमा रूखमा भोट हाल्ने ठाउँ नै छैन। अर्कातिर मेरी छोरीलाई भोट हालेनौ भने मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ। कांग्रेसजनले रूखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो। आज छोरी जिताउनुपर्छ। भोलि भाइ, भतिजा र अरुको जिम्मा लिनुपर्छ।’’

‘भोट हालेनौ भने’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन ओलीको चेतावनी छ। अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उनी बताउँछन्। ‘‘आफूले बनाएको र वर्षौदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न म कार्यकर्तालाई आग्रह गर्छु,’’ ओलीले भने, ‘‘जनतालाई हेर्ने र सेवा सुविधा पुर्याउने पार्टी एमाले नै हो भन्ने तपाईं हामी सबैले बुझेकै छौँ।’’

आफ्नो सुन्दर र सुरक्षित भविष्यका लागि सूर्य चिन्हमा मतदान गरेर स्थानीय तहका जनप्रतिनिधिमा एमालेका उम्मेदवारलाई विजयी गराउन उनले सबैमा आग्रह गरे । ‘‘अरु पार्टीमा रहेका साथीहरु एमालेमा आउनुस् । देश बनाउने महाअभियानमा हातेमालो गरेर अघि बढौँ,’’ ओलीले भने, ‘अरुले मुलुकलाई हानी मात्रै पुर्याए। एमालेले ल्याएको मुलुक बनाउने अभियानमा अब सबै सरिक हुनुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved