नवलपुरको सत्ता-गठबन्धनको चुनावी अभियानमा अर्बपति विनोद चौधरी, आठवटै स्थानीय तह जिताउने दाबी

नेपालभ्युज

नवलपुरको सत्ता-गठबन्धनको चुनावी अभियानमा अर्बपति विनोद चौधरी, आठवटै स्थानीय तह जिताउने दाबी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेपाली अर्बपति विनोद चौधरीले आसन्न स्थानीय निर्वाचनमा कांग्रेसलाई विजय गराउन गृहजिल्ला नवलपुरमा क्रियाशील भएका छन्।

जिल्लाका आठवटै स्थानीय तहमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउने घोषणाका साथ उनी निर्वाचन अभियानमा होमिएका हुन्।

चौधरी नवलपुरको घरदैलो कार्यक्रममा सक्रिय छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमा समेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ति समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाईरहेका देखिन्छन्।

नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिवेणी र वुलिङ्गटार गरी चार गाउँपालिका रहेका छन्।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादूर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ।

नेता चौधरीले आठवटै पालिकामा चारतारे झण्डा फहराउने र जिल्लाको विकासको गतिलाई तीव्र बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन्। जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन कायम गरिएको छ।

नवलपुरमा देशकै नमूना औद्योगिक पार्क, शाश्वतद्याम र उन्नती कल्चरल भिलेज जस्ता सस्थाहरू स्थापना गरेर आफूलाई राष्ट्रकै अब्बल उद्यमीमा स्थापित गरिसकेका चौधरी पहिलो पटक यसरी जनताको घरदैलोमा पुगेर जिल्लाको विकासको अभियानका बारेमा नेतृत्व लिइरहेका छन्।

“विनोद चौधरीलाई हामी अन्य नेताहरूजस्तो चुनावको बेलामा आकाशको तारा झारिदिने र त्यसपछि केही नगर्ने नेताका रुपमा लिएका छैनौँ। उहाँका विकासका प्रतिवद्धताले नवलपुर जिल्ला र हामी नवलपुरवासीलाई नै गौरवान्वित गराउनेछ भन्नेमा विश्वस्त छौँ,” देवचुली नगरपालिका वडा नम्बर ७ निवासी मतदाता हर्कबहादुर सोमै भन्छन्, “अहिलेको चुनाव हाम्रा लागि विशेष छ किनभने विनोद चौधरीजस्ता देशलाई नै ठूलो योगदान पु¥याएका नेता हाम्रो घरदैलोमा भोट माग्न आएका छन्। उनले हाम्रा लागि पक्कै पनि राम्रो काम गरेर देखाउने छन्।”

मध्यविन्दू नगरपालिका वडा नम्बर ३ का मतदाता शिवलाल श्रेष्ठ पनि आफ्नो जिल्लाको अहिलेको चुनावी अभियानलाई फरक ढंगले हेरिरहेका छन्। “नवलपुर जिल्ला वास्तवमा बत्ति मुनिको अध्यारोमा रहदै आएको छ। देख्दा धेरै विकसित जस्तो देखिन्छ तर यो जिल्ला वास्तवमै अविकसित छ,” श्रेष्ठले भने, “देशका एकमात्र अर्बपति विनोद चौधरीलाई हामीले हाम्रा नेताको रुपमा पाएका छौँ। जहाँसम्म मैले उनलाई चिनेको छु, उनी आँटेको काम फत्ते नगरेसम्म आफु पनि सुत्दैनन् र अरुलाई पनि सुत्न दिदैनन्। जिल्लाको विकासका लागि अहिले उनले जे भनिरहेका छन् मलाई विश्वास छ, गरेर देखाउनेछन्। नवलपुर जिल्लाले आफ्नो पुरानो पहिचान बदल्नेछ।”

शनिवार देवचुली नगरपालिकामा आयोजित सभामा बोल्दै उनले भनेका छन्, “स्थानीय निकायका जनप्रतिनिधि १० माइलको रफ्तारमा हिड्नुभयो भने म १०० माइलको रफ्तारमा हिँड्ने छु।”

चौधरीको अभियानमा राजनीतिका लागि राजनीति र विपक्षीलाई गाली गलौजमा सीमित राष्ट्रिय राजनीतिको दृष्यलाई समेत नवलपुरमा परिवर्तन गरिदिएका छन्। उनका जति पनि अभिव्यक्ति आएका छन्, ती सबै विकास निर्माण र जनताको जीवनस्तर परिवर्तनमा केन्द्रित छन्। विपक्षीहरूलाई होचो देखाएर आफू अग्लो देखिने राष्ट्रिय राजनीतिको दृष्य त्यहाँ देखिँदैन।

चौधरीको यो अभियानले हालसम्म अन्य दलमा आवद्ध रहेका आम मतदाताहरूलाई निकै प्रभावित पारेको देखिएको छ। उनी जिल्लाका जुन ठाउँमा पुग्छन्, त्यहाँका मतदाता नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ।

“हामीलाई विकास चाहिएको छ त्यसका लागि विनोद चौधरीभन्दा ठूलो भरोसा अरु हुन सक्दैन,” शनिवार मात्रै एमालेबाट कांगे्रसमा प्रवेश गरेकी विमला सुनारले भनिन्, “चौधरीले नवलपुरमा तीन हजार मानिसलाई रोजगारी दिएका छन्। र, त्यसमध्ये पनि आधाजसो महिला छन्। हाम्रो जीवनस्तर सुधारमा उनले जत्ति योगदान दिएका छन् त्यो अन्य कसैसँग पनि अपेक्षा गर्न सकिँदैन। त्यसैले म लामो समयदेखिको एमालेसँगको आवद्धता छोडेर उहाँको हातबाट टिका लगाउन पाउँदा उत्साहित छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved