स्थापितलाई २४ घण्टा‍भित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

नेपालभ्युज

स्थापितलाई २४ घण्टा‍भित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले दिउको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएकाले २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

आयोगको निर्णय बारे सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “नेकपा(एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका केशव स्थापितको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आचारसंहिता २०७८को दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड च,ठ र ढ साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड ‘द’ अनुकूल नभएकोले सो विषयमा आधार, कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोग निर्देश गर्दछ।”

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखी पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ।

यता स्थापितविरुद्ध विज्ञप्ति निकाल्ने महिला पुनर्स्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ। त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानका दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved