मतदाता नामवलीमा थपघट वा हेरफेर नहुने

नेपालभ्युज

मतदाता नामवलीमा थपघट वा हेरफेर नहुने

काठमाडौं। निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामवलीमा अब थपघट र हेरफेर नहुने बताएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामवलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने बताए।

यही ३० वैशाखका लागि नेपाल सरकारबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले आयोगबाट नियमित हुँदै आएको मतदाता नामवली सङ्कलन कार्य मतदाता नामवली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामवलीमा नाम दर्ता नगरिने भएकाले सो कार्य गत माघ २५ गतेदेखि स्थगन भएको थियो।

अन्तिम मतदाता नामवली प्रकाशन भएपछि पनि मतदाता नामवली सार्न र सच्याइ पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामवली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामवली प्रकाशन भएपछि नामवलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएकाले मतदाता नामवली थपघट गर्न, हेरफेर गर्नेलगायत कार्य नितान्त आयोगको क्षेत्राधिकारभित्र रहेकाले सो ऐनको दफा २९ बमोजिम कुनै अदालतमा प्रश्न उठाउन नपाइने पनि आयोगले जनाएको छ।

मतदाता नामवली सङ्कलनकार्य स्थगन भए पश्चात् आयोगबाट मतदाता नामवली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामवली अद्यावधिक कार्यक्रम सञ्चालन भएकोमा उक्त अवधिमा नामवलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामवली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिन आह्वान गरिएको थियो। सोही अवधिमा एकै वडाका दुई वा दुईभन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने, कुनै दावी विरोध भए सोसम्बन्धी निवेदनलगायत कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो। मतदाता नामवली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् आयोगबाट गत चैत १३ गते दोहोरो नामवली हटाउनेलगायत प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामवली प्रकाशन भएको थियो।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले गत चैत १३ मा प्रकाशन गरिएको अन्तिम मतदाता नामवलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् मतदाता नामवली सङ्कलन र अद्यावधिकको कार्य पुनः सुचारु भएपछि मतदाता नामवलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउनेलगायत कार्य गर्न सकिने विज्ञप्तिममा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved