प्रमुख र उपप्रमुखमा एमालेबाट सिफारिस भएका सुदूरपश्चिमका तीन दम्पती

प्रमुख र उपप्रमुखमा एमालेबाट सिफारिस भएका सुदूरपश्चिमका तीन दम्पती

धनगढी। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सबैजसो दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन्। उम्मेदवार बन्न कर्मचारीदेखि पत्रकार र बहालवाला जनप्रतिनिधिको होडबाजी नै चलेको छ।

पालिका प्रमुख तथा उपप्रमुखमा एक जना महिला अनिवार्य हुने संविधानले सुनिश्चित गरेको छ। जसलाई आधार बनाएर अहिले कतिपय ठाउँमा दम्पतीले नै निर्वाचनमा उम्मेदवारी घोषणा गर्न थालेका छन्।

सुदूरपश्चिमका तीन पालिकामा नेकपा (एमाले)बाट श्रीमान् श्रीमती नै सिफारिस भएका छन्। यद्यपि उम्मेदवारको टुंगो भने अझै लागेको छैन। पतिपत्नी नै सिफारिस हुनेमा बझाङका दुई र डडेल्धुराको अमरगढी नगरपालिका हुन्।

बझाङको बित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिकामा श्रीमान् श्रीमतीले पालिकाको अध्यक्ष उपाध्यक्षमा आकांक्षा राखेपछि गाउँ कमिटीले उम्मेदवार छनोटका लागि सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको छ।

एमालेबाट सुर्मा गाउँपालिकामा शेरबहादुर बोहरा, कलक बोहरा, दिलीप बोहरा, गोरख बोहरा र चक्र बोहरा गरी ५ जनाको नाम सिफारिस भएको छ। यस्तै, उपाध्यक्षमा मातादेवी बोहरा, सन्चु जप्रेल जेठारा, टीकादेवी जेठारा, अञ्जना बोहरा र समीता देवी बोहराको नाम सिफारिस गरिएको नेकपा एमाले सुर्मा गाउँ कमिटीका अध्यक्ष कैलाश बोहराले जानकारी दिए।

यस्तै, बित्थडचिरमा वर्तमान अध्यक्ष प्रेमबहादुर बोहरा, लोकेन्द्र बोहरा, कलकबहादुर विष्ट, हर्क बोहरा र हर्क धामी सिफारिस भएका थिए। उपाध्यक्षमा वर्तमान उपाध्यक्ष जानकी बोहरा, जयन्ती भण्डारी र राजेश्वरी ऐर विष्ट सिफारिस भएका थिए।

एमालेबाट सिफारिस भएका बित्थडचिर गाउँपालिका-९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्ट र राजेश्वरी पतिपत्नी हुन्। दुवै आकांक्षीलाई बित्थडचिर गाउँ कमिटीले सिफारिस गरी प्रदेशमा पठाएको छ।

यस्तै सुर्मा गाउँपालिकामा चक्र बोहरा र मातादेवी बोहरा पनि श्रीमान् श्रीमती हुन्। दुवै जनालाई सुर्मा गाउँ कमिटीले छनोटका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ। मातादेवी बोहरा ०७४ सालको तहको निर्वाचनमा नेपाली कांग्रेसकी समीता पुजारासँग उपाध्यक्षमा पराजित भएकी थिइन्।

यस्तै डडेल्धुराको अमरगढी नगरपालिकामा पनि एमालेबाट श्रीमान्-श्रीमती नै मेयर र उपमेयरका लागि सिफारिस भएका छन्। एमालेको जिल्ला कमिटी बैठकले अमरगढी नगरपालिकामा मेयरका लागि करन ताम्राकार र इन्दिरा ताम्राकारलाई सिफारिस गरेको हो।

करन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् भने इन्दिरा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराकी इन्चार्ज छिन्। उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको बताइएको छ। अमरगढीमा करनसहित ८ जना मेयरमा र इन्दिरासहित ३ जना उममेयरमा सिफारिस भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved