सत्ता गठबन्धनसँग लड्न एमालेले ‘हिन्दु अतिवादी गठबन्धन’ बनायो : प्रचण्ड (भिडिओ)

‘‘एउटा यही गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको) भयो। अर्को होली वाइन, सबै राजावादीहरू भएर बनेको हुनाले कुन प्रगतिशील हो भन्ने छ्यांगै देखिएको छ।’’

नेपालभ्युज

सत्ता गठबन्धनसँग लड्न एमालेले ‘हिन्दु अतिवादी गठबन्धन’ बनायो : प्रचण्ड (भिडिओ)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय चुनावमा नेकपा एमालेले ‘हिन्दु अतिवादी गठबन्धन’ बनाएको आरोप लगाएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले सत्तारुढ गठबन्धनविरुद्ध लड्न एमालेले धर्मनिरपेक्षता उल्टाउने षड्यन्त्र स्वरूप गठबन्धन बनाएको आरोप लगाएका हुन्।

आफूहरू संविधानमा भएका अग्रगामी धाराहरूको रक्षाको लागि गठबन्धन गरिरहँदा एमालेले राजा फर्काउन भन्दै लागेका शक्तिसहितको गठबन्धन बनाएको प्रचण्डको भनाइ थियो। सो गठबन्धनलाई जनताले भोट नदिने प्रचण्डको जिकिर छ।

प्रचण्डले भने, ‘‘केही शक्तिहरू धर्मनिरपेक्षको ठाउँमा हिन्दु अतिवादतिर जान खोज्ने प्रवृत्तिका कारणले समस्या पैदा भयो। राजा फकाउनुपर्छ भन्नेहरू सहितको एमालेको गठबन्धनमा हिन्दु अतिवादी गठबन्धन हो। हामी त धर्म निरपेक्षताको पक्षमा छौँ। संविधानमा भएको अग्रगामी धारालाई रक्षा गर्ने हाम्रो उद्देश्य हो। यसैले फेरि एकपटक जनताले सङ्घीय गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा मतदान गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ।’’

प्रचण्डले एमालेले गरेको गठबन्धनलाई संविधानको विरुद्धमा लाग्नेहरूको भएको आरोप लगाए। ‘‘एउटा यही गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको) भयो। अर्को होली वाइन, सबै राजावादीहरू भएर बनेको हुनाले कुन प्रगतिशील हो भन्ने छ्यांगै देखिएको छ।’’
आफूहरूको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेको बीचमा भएको उनको भनाइ थियो। उनले भने, ‘‘हिजोका सामन्त, राजामहाराजा र उसँग सम्बन्धित पार्टीहरूसँग गठबन्धन गर्न खोज्ने, लोकतन्त्रवादी, गणतन्त्रवादीहरूसँग भन्दा प्रतिगामी शक्तिहरूसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved