राष्ट्रिय परिचयपत्र : २४ हजारको विवरण सङ्कलन

विवरण सङ्कलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन्। एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ।

नेपालभ्युज

राष्ट्रिय परिचयपत्र : २४ हजारको विवरण सङ्कलन
सांकेतिक तश्वीर

बैतडी। बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ।

हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। ७ चैतदेखि वडास्तरमा सञ्चालन भएको विवरण सङ्कलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ। डिलाशैनीमा आठ हजार ३९६ र सिगासमा सात हजार २०६ जनाको विवरण सङ्कलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए।

भारतीले भने, “परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ। सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागी भएका छन्।”

हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान शुरु भएको छ। दोगडाकेदारमा २३४ र पुर्चौडीमा ७३५ जनाको विवरण सङ्कलन भइसकेको छ।

जिल्ला प्रशासन कार्यालयबाट सात हजार ८५९ जनाको विवरण सङ्कलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ छ।

विवरण सङ्कलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन्। एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ।

जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको हो।

राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ। यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ।

विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहिता महिलाका हकमा श्रीमान्को पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ। राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved