सकियो कांग्रेसको एक महीने चुनावी अभियान

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर अभियान सफल भएको दाबी गरेका छन्।

नेपालभ्युज

सकियो कांग्रेसको एक महीने चुनावी अभियान
फाइल फोटो

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सकिएको छ। उक्त अभियान ७७ ओटै जिल्ला र ७५३ स्थानिय तह केन्द्रित भएर गत २९ फागुनमा शुुरु भएको थियो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर अभियान सफल भएको दाबी गरेका छन्।

महतले एक महीने अभियानमा देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका (महानगरपालिका-६, उपमहानगरपालिका-११, नगरपालिका-२७६, गाँउपालिका-४६०) र तिनका सबै ६ हजार ७४३ वडामा अत्यन्त उत्साहका साथ व्यापक जनसहभागिता रहेको पनि दावी गरेका छन्।

कांग्रेसले अभियानमार्फत ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपिल गरेको जनाएको छ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नारा अघि सारेको कांग्रेसले नेकपा सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राखेको पनि जनाएको छ।

एक महीने अभियानको क्रममा कांग्रेसले एमसीसीबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई तोड्न बुँदागत रुपमा एउटा पुस्तिका पनि बाँडेको छ। अभियानमा कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएका थिए।

कांग्रेसले भोलि बुधबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved