काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले फागुनसम्मको अवधिमा निकालेको तथ्यांकअनुसार रेमिट्यान्स घटेको छ भने महँगी झनै बढेको छ।
तथ्यांकअनुसार फागुनसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३ प्रतिशतले घटी ६ खर्ब ३१ अर्ब १९ करोड रूपैयाँमा कायम भएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो।
महँगीको ग्राफ उकालो
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन महीनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। माघ महीनामा मुद्रास्फीति ५.९ प्रतिशतमा कायम थियो।
तथ्यांकअनुसार समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ। २०७७ फागुन महीनाको तुलनामा २०७८ फागुन महीनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ।
साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ।
समीक्षा महीनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो।
सो अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ। गत आर्थिक वर्षको समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब एक करोडले बचतमा रहेको थियो। चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले मात्रै घाटामा रहेको थियो।
सो अवधिमा संघीय सरकारको खर्च रु.६७५ अर्ब ३० करोड र राजस्व परिचालन रु.६८४ अर्ब ७० करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.१ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २२.२ प्रतिशत रहेकोछ।
चालु आवको फागुन महीनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो।
Facebook Comment
Comment