समयमै सूचना दिन सरोकारवाला निकायलाई अभियन्ताको अनुरोध

निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उनीहरूले सूचना प्रवाहमा ‘भ्याकुम’को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराए।

समयमै सूचना दिन सरोकारवाला निकायलाई अभियन्ताको अनुरोध

काठमाडौं। उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियन्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।

स्थानीय तह निर्वाचनका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनको समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तर्क्रियामा उनीहरूले सही सूचना प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरे। निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उनीहरूले सूचना प्रवाहमा ‘भ्याकुम’को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराए।

सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उनको भनाइ थियो। “झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, त्यसैले सूचना ढोकाबाट मात्रै दिनुपर्छ”, सही सूचना प्रवाह गर्ने कमजोर अभ्यासको परिणामबारे सचेत गराउँदै उनीहरूले भने।

निर्वाचन आचारसंहिताका केही बूँदा सूचनाको हकको प्रावधानसँग बाँझिने भन्दै उनीहरूले जनताको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रहार गर्ने विषयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने बताए। ‘निर्वाचनका सन्दर्भमा सही सूचना प्रवाह र कानूनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले निर्वाचनका समयमा देखिने भ्रमपूर्ण सूचना प्रवाह गर्ने विश्वव्यापी प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गरे।

जिम्मेवार पदमा बसेका व्यक्तिले सूचनाको सम्प्रेषणमा सजगता अपनाउनुपर्ने दाहालले उल्लेख गरे। निर्वाचनका समयमा सही सूचना सम्प्रेषण गर्न सूचना आयोग र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले जनता भयवित हुने र निर्वाचनप्रति नकारात्मक सन्देश दिने खालको सूचना प्रवाह गर्न नहुने बताए।

“सम्बन्धित राजनीतिक दलले उम्मेदवारको व्यक्तित्वका बारेमा मतदातालाई सूचना दिँदै लैङ्गिक र समावेशीताको दृष्टिकोणबाट पनि जनतालाई सूचित गराउनुपर्छ”, उनले भने। निर्वाचनको सम्मुखमा मात्र नभई सधैँ मतदाता जागरण, मतदाता शिक्षा सञ्चालन गर्न दाहालले निर्वाचन आयोगलाई आग्रह गरे। भ्रमपूर्ण सूचनाले मतदाता भयवित हुनसक्ने भन्दै उनले सञ्चारमाध्यमले सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताए। “निर्वाचनसँग सरोकार भएका जिम्मेवार व्यक्ति तथा संस्थाले तोकिएका समयमा सही सूचना सम्प्रेषण गर्नुपर्छ”, उनले भने।

लोकतन्त्रको सुदृढीकरण तथा सही सूचना पाउने नागरिकको अधिकार प्रत्याभूत गराउन सूचना आयोग कडाइका साथ प्रस्तुत हुनुपर्ने दाहालको सुझाव छ।

सूचनाका हकका विज्ञ टङ्क अर्यालले सही समयमा उपयुक्त स्थानबाट सही सूचना प्रवाह हुन नसके त्यसअवस्थामा गलत सूचना प्रवाह हुनसक्ने बताए। गलत सूचना तीव्र गतिमा फैलने गरेको भन्दै उनले आम जनमानसमा ‘डिजिटल’ साक्षरता बढाइनुपर्ने बताए। निर्वाचनका समयमा दल र उम्मेदवार लक्षित गरेर गलत अफवाह फैलनसक्ने, गलत सूचनाको निरन्तरको प्रवाहले निर्वाचन प्रभावित हुनसक्ने र स्वतन्त्र छलफल र विचारमाथि प्रहार हुनसक्ने उनको भनाइ छ।

अधिवक्ता अर्यालले सामाजिक सञ्जालले सूचना प्रवाहमा सजिलो र छरितो बनाए पनि यसले सँगसँगै जोखिम पनि बढाएको बताए। सामाजिक सञ्जालमार्फत फैलनसक्ने गलत सूचना रोक्न सम्बन्धित सञ्जालसँग सहकार्य गरेर भ्रामक सूचना रोक्न आयोगले छलफल गर्नुपर्ने उनले बताए।

‘राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पानोस साउथ एशियाका निर्देशक दीपक अधिकारीले निर्वाचनका समयमा महिला उम्मेदवारमाथि अनावश्यक लाञ्छाना लगाउने, महिलाको क्षमताको अवमूल्यन गर्ने र घृणायुक्त भनाइमार्फत प्रहार गर्ने पाइएको बताए।

राजनीतिक नेत्रीले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको, गाली बेइजति तथा होच्याउने खालका प्रतिक्रियाको सामना गर्नुपरेको उनको भनाइ छ।

पानोस साउथ एशियाले गरेको एक अध्ययनमा सरकार तथा शक्तिको पदमा रहेका महिला राजनीतिज्ञ अनलाइन दुव्र्यवहारको मारमा पर्ने सम्भावना बढी देखिएको, सामाजिक सञ्जालमा सक्रियको हकमा उनीहरूले स्त्रीद्वेषी प्रतिक्रिया र घृणायुक्त भनाइको सामना गर्नुपर्ने अवस्था पाइएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved