कर्णालीका १० मध्ये तीन जिल्लामा सत्तारुढ चुनावी गठबन्धन, अन्यमा अन्योल

नेपालभ्युज

कर्णालीका १० मध्ये तीन जिल्लामा सत्तारुढ चुनावी गठबन्धन, अन्यमा अन्योल

सुर्खेत। कर्णाली प्रदेशका १० मध्ये तीन जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरूले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन्।

कर्णालीका १० मध्ये जाजरकोट, हुम्ला र दैलेखमा गठबन्धन गर्ने दलहरूले निर्णय गरेका हुन्। तर, केन्द्रले स्पष्ट खाका नदिँदा प्रदेशका अन्य जिल्लामा तालमेल गर्न गठबन्धनका दलहरू अन्योलमा छन्। गठबन्धन दलमा रहेका राजनीतिक दलहरूका नेताले कर्णाली प्रदेशस्तरीय बैठक पनि गरिसकेका छन्। तर, उनीहरूको सहमति के हुने भन्ने अझै स्पष्ट भइसकेको छैन।

जाजरकोटमा सत्ता गठबन्धन आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको छ। चार दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय भएको र पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न/नगराउन निर्देशन दिइएको छ।

हुम्लाका सात गाउँपालिका तथा त्यहाँका ४४ वडामा गठबन्धनका दलहरूबीच तालमेल गर्ने निर्णय भएको छ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले बताए। “अहिले अन्य विषय केन्द्रले निर्देशन देला। सामान्य छलफल गरेर अहिलेलाई तालमेल गर्ने निर्णय मात्र गरेका छौं,” उनले भने, “केन्द्रले स्पष्ट खाका दिएपछि अन्य विषयमा छलफल होला। उम्मेदवारको छनोट पनि त्यही आधारमा हुनेछ।”

त्यस्तै दैलेखमा कांग्रेस सभापति मणिराम रेग्मी, माओवादीका संयोजक प्रेमबहादुर कटुवाल क्षत्री, नेकपा एसका अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष लोगपाल थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छन्।

निर्वाचनकेन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चार ओटै दलका प्रमुखसहित ७ जना सम्मिलित संयन्त्र गठन गर्ने र स्थानीय तहमा पनि संयन्त्र बनाउने सहमति भएको नेकपा माओवादी केन्द्रका दैलेख जिल्ला संयोजक क्षत्रीले जानकारी दिए।

कर्णालीमा गठबन्धनको विगतको निर्वाचनको अवस्थाका विषयमा छलफल भइरहेको अहिले कुनै पनि स्थानीय तहमा चुनावी बाँडफाट नभएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved